पोखरा एक्सप्रेस ,काठमाडाैँ ।
निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रवार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्ने बताए । विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उनले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गरे ।
आयुक्त जबराले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराए । पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्वपूर्ण सरोकारवाला र निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै एक दिने अभिमुखीकरण तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।
तपाईको प्रतिक्रिया