पोखरा एक्सप्रेस ,काठमाडौँ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएका हुन् ।
विज्ञप्तिमा अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी पाँच जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी ८ जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने उल्लेख छ ।निर्वाचनमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी २ हजार ४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको विज्ञप्तिमा उल्लेख छ ।निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया