पोखरा एक्सप्रेस ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज (शनिबार) चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।
उनी चितवनको भरतपुर महानगरापालिकामा पर्ने चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुने भएका हुन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई विशेषका साथै छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनले सभापति लामिछाने दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको पनि जनाएका छन् ।
प्रवक्ता झाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘भोलि दिउँसो ३ बजे, सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।’
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।
उनलाई उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया