व्यापार मेलामा बालन नाच आज सूचना प्रविधिबारे परिचर्चा
- Pokhara Express
- २०८२ मंसिर २० शुक्रबार
पोखरा एक्सप्रेस ,पोखरा ।
पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’मा बिहीबार बालन नाच प्रदर्शन गरिएको छ ।
हराउँदै गएको बालन नाचको संरक्षण गर्न तथा नयाँ पुस्तालाई यो नाचबारे जानकारी दिन मेलामा बालनलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको मेलाका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य ललित कुँवरले बताए ।
बालन नाचको क्रममा भगवानका लीला र अवतारहरुको वर्णन गरिन्छ । यो नाचका गीतहरु रामायण,महाभारत,कृष्णचरित्र र पुराणहरुमा आधारित हुन्छन् । ती ग्रन्थमा उल्लेखित कथालाई गीतको भाकामा प्रस्तत गर्ने तथा खैंजडी,मजुराको तालमा नाच्नु नै बालनको विशेषता हो । यसमा गाउने र नाच्ने फरक समूह हुन्छ । कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ ।
भगवानको आरतीबाट सुरु हुने भजन भक्तिसंगीतको अनुपम नमूना भएको र गण्डकी प्रदेशमा बढी प्रचलनमा रहेको छ ।
देवीस्थान भजन समूह हेम्जाले बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा बालन नाच प्रस्तुत गरेको हो । यो समूहले बालन संरक्षणको लागि विशेष अभियान नै चलाउँदै आएको सचिव झंकनाथ तिम्सिनाले जानकारी दिए ।
‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मेला मंसिर २१ गतेसम्म चल्नेछ । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीको भनाइ छ ।
क्यान इन्फोटेकअन्तर्गत सूचना—प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको क्यान महासंघ गण्डकीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए । बिहीबार कृतिम बुद्धीमत्ता (एआई) र यसका सकरात्मक र नकारात्मक पाटाहरुबारे वक्तृत्वकलाको आयोजना गरिएको उनले बताए ।
मेलामा औद्योगिक उत्पादन, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि,विभिन्न सरकारी तथा गैरसरकारी संघ—संस्थाहरुको गतिविधिलगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा,श्रृंगारका सामानहरुको बिक्री वितरणको व्यवस्थासमेत मिलाइएको संघका महासचिव शोभा गौतमले जानकारी दिइन् । शुक्रबार मेलाअन्तर्गत सूचना प्रविधिबारे परिसंवाद कार्यक्रमसमेत राखिएको छ ।
तपाईको प्रतिक्रिया