पोखरा एक्सप्रेस ,काठमाडौं।
नेपाली बजारमा दुई पांग्रे विद्युतीय सवारी साधन (ईभी)को आयात तथा प्रयोग बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार दुई पांग्रे ईभीको आयात तथा प्रयोग बढ्दै गएको हो।
दुई पांग्रे ईभीको आयात र प्रयोग बढ्दै गए पनि धेरै कम्पनीहरु बिक्रीमा मात्रै केन्द्रित हुँदा उपभोक्ताको विश्वास गुम्दै गएको छ। नेपाली बजारमा दुई पांग्रे ईभीको प्रयोग र बिक्री बढ्न थालेको धेरै भएको छैन। तर, काठमाडौं उपत्यकासहित मुलुकभर ईभी स्कुटर बिक्री वितरण गर्ने शोरुमको उपस्थिति बाक्लो छ।
लगभग आधा दशकमा ईभी स्कुटर वितरक चोकचोकमा पुग्न भ्याइसकेका छन्। हालसम्म नेपालमा करिब सात दर्जन ब्रान्डले दुई पांग्रे बिक्री गरिरहेको बिक्रेताको दाबी छ। तर, स्थापित र चलेका ब्रान्ड औँलामा गन्न सकिने मात्रै छन्। नेपालमा भित्रिएका दुई पांग्रे ईभी ब्रान्डको संख्या अनुमानभन्दा धेरै छ।
नेपाल भित्रिएका अधिकांश ब्रान्ड बिक्रीमा मात्र केन्द्रित देखिन्छन्। केही कम्पनीबाहेक बिक्रीपछिको सेवामा ध्यान दिने गरेका छैनन्। बिक्री गरिसकेपछि एक्सचेन्ज गर्नुपरे वा प्रयोगकर्ताले बिक्री गर्नुपरेमा रिकन्डिसनमा लगेर स्कुटर बिक्री गर्ने सुझाव कम्पनीले दिने गरेका छन्।
अहिले एक दुई युनिट ल्याएर परीक्षणका रुपमा हेरिहालौँ भन्ने मानसिकताका कारण धेरै ब्रान्ड खुल्ने र बन्द हुने अवस्था सिर्जना भएको सेगवे स्कुटरका बजार प्रमुख मनिष मुरारका बताउँछन्।
‘नेपाली बजारमा आएका दर्जनौँ ब्रान्डका सवारी साधनले समग्र ईभी बजारप्रति अविश्वासको वातावरण सिर्जना भएको छ,’ उनले भने, ‘जस्तो पाए त्यस्तै ब्रान्ड ल्याउँदा हरेक दिन नयाँ ब्रान्ड खुल्ने र बन्द हुने क्रम जारी छ।’ सेगवेयका स्कुटर प्रयोगकर्ताले चाहेको जुनसुकै समयमा एक्सचेन्ज हुने उनको भनाइ छ। अहिले नेपाली बजारमा उपलब्ध सिमित ब्रान्डबाहेक अन्य ब्रान्ड आउने बन्द हुने क्रम जारी छ।- क्यापिटल नेपाल
तपाईको प्रतिक्रिया