पोखरा एक्सप्रेस ,काठमाडौं।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
हाल देशका अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ भने कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोसी, मधेस र बागमती प्रदेश केही तथा लुम्बिनी प्रदेशका एकाध स्थानमा भारी वर्षाको संभावना छ।
यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ। ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ।
भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया