जिसस कास्कीको पालिकासँग लागत साझेदारी सम्झौता,
- Pokhara Express
- २०८२ कातिर्क १ शुक्रबार

पोखरा एक्सप्रेस ,पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले कास्कीका चारवटा पालिकासँग लागत साझेदारी सम्झौता गरेको छ । जिससको ‘मौजुदा कोषको सञ्चालन निर्देशिका २०७५’ बमोजिमको कार्यक्रम छनोट गरि पेस गरिएका योजना प्रस्तावमा सम्झौता गरिएको हो । जसका लागि गत साउन २५ गतेको जिसस बैठक तथा भदौ ६ गतेको आठौँ जिल्ला सभाले रकम उपलब्ध गराउने निर्णय गरेका थिए। सम्झौता बमोजिम जिसस कास्कीले पोखरा महानगरपालिकालाई २ करोड, मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रूपा गाउँपालिकालाई एकएक करोडका दरले रकम उपलब्ध गराउने छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सम्झौतामा उल्लेख गरिएका कामहरू गुणस्तरीय सामानको प्रयोगसँगै समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । कुल रकमको ७० प्रतिशत सम्झौतापश्चात र बाँकी ३० प्रतिशत कार्यक्रम सम्पन्न भएपछि उपलब्ध गराइने उहाँले बताउनुभयो । कार्यतालिका बमोजिमको प्रगति नभएको अवस्थामा बाँकी रकम उपलब्ध नगराइने उहाँले उल्लेख गर्नुभयो । सम्झौताअनुसारकाे काम पालिकाले जेठ १५ गतेभित्र पुरा गरिसक्नुपर्ने प्रमुख पौडेलले स्पष्ट पार्नुभयो ।
सम्झौताअनुसार कास्कीको मादी गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सिक्लेस भवन मर्मत सम्भारका लागि ३० लाख र सैमराङ स्वास्थ्य चौकी भवन निर्माण योजनाका लागि ३० लाख उपलब्ध गराउने छ । बाँकी ४० लाखको सम्झौता हुन बाँकी रहेको छ । मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले सम्झौता बमोजिमको काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बाँकी योजनाका लागि पालिकामा छलफल भइरहेको र छिट्टै सम्झौताका लागि जिससमा पेस गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
सम्झौतामार्फत प्राप्त हुने रकमबाट रूपा गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले काम समेत सुरु गरिसकेको छ ।
अन्नपूर्ण गाउँपालिकाले भने वडा नं. १ को कार्यालय र स्वास्थ्य चौकीको घेराबार एवं गेट निर्माण, दुर्गा भवानी आधारभूत विद्यालयको भवन निर्माण, गाउँपालिकाको प्रशासकीय भवन निर्माण, वडा नं. ३ कार्यालयको भवन मर्मत सम्भार एवं ट्रस निर्माण, बहादुरे माविमा चमेनागृह निर्माण, नयाँपुलमा खोप केन्द्र निर्माण, सङ्गम माविको मर्मत, वडा नं. ७ को कार्यालय भवन निर्माण, मोदी आधारभूत विद्यालय मर्मत योजना, वडा नं. ९ कार्यालयमा रेलिङ एवं स्वास्थ्य चौकी मर्मत, जनसेवा आधारभूत विद्यालयको भवन निर्माण, माछापुच्छ्रे बेसक्याम्प स्वास्थ्य केन्द्र निर्माण र वडा नं. ११ को भवन ट्रस निर्माण गर्नको लागि सो रकम खर्च गरिनेगरी सम्झौता भएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिकाले काउरेबेसी सिँचाइ कुलो मर्मत तथा स्तरोन्नति, माछापुच्छ्रे मावि भवन निर्माण तथा मर्मत, मेघराज आधारभूत विद्यालयमा मिटिङ हल निर्माण, शुक्लागण्डकी मावि मिटिङ हल निर्माण, लाहाचोक स्वास्थ्यचौकी एवं वडा नं. ४ कार्यालय मर्मत तथा स्तरोन्नति, निष्पक्ष मावि सभाहल निर्माण, वडा नं. ६ को कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण, बराह माविमा स्टेज निर्माण तथा कैलास आविमा पर्खाल निर्माण, धम्पुस हेल्थपोष्ट स्तरोन्नति, पात्लाकुनी धम्पुस खानेपानी योजना, तारेबराह आधारभूत विद्यालय रंगरोगन तथा तला थप कार्य र सेतिघट्ट स्वास्थ्य चौकी भवन सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।
सम्झौताबमोजिमको कार्यप्रगतिको जिल्ला समन्वय समितिले अनुगमन गर्ने समन्वय अधिकारी बरालले उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया