३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित, टिकट काट्न बन्द
- Pokhara Express
- २०८२ असोज ५ आइतबार

पोखरा एक्सप्रेस ,पोखरा
मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा हजारौं यात्रु र सवारी साधन ३६ घण्टादेखि अलपत्र परेका छन्।
यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना र अन्य सहयोग गरिरहेको छ, र टिकटको पैसा फिर्ता गर्ने विकल्पमा छलफल भइरहेको छ।
सडक विभाग र यातायात व्यवसायीहरूले सडकको अवस्थाबारे जानकारी आदानप्रदान गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन् ।
सिटौलाका अनुसार मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् । हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेको उनले जानकारी दिए । ‘यदि अहिले गाडीहरूलाई पठाइएमा पनि उनीहरू बाटोमै अलपत्र पर्ने जोखिम छ । सामान्य अवस्थामा पनि गन्तव्यसम्म पुग्न कम्तीमा ६(७ घण्टा लाग्ने गर्छ, तर अहिले बाटोको अवस्था अनिश्चित भएकाले यात्रा थप कष्टकर हुनेछ,’ सिटौलाले भने ।
३६ घण्टाभन्दा बढी समयदेखि अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको सिटौलाले जानकारी दिए ।
‘अहिले यात्रुहरूका लागि दुई विकल्पमाथि छलफल गरिरहेको छ। पहिलो, यात्रा गर्ने नचाहने यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था गर्ने’ उनले भने, ‘दोस्रो, बाटो खुलेपछि मात्रै यात्रा गर्ने इच्छा राख्ने यात्रुहरूका लागि सोही अनुसारको व्यवस्थापन गर्ने।’
सिटौलाले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने स्पष्ट पारे ।
सडक विभागका महानिर्देशक, मन्त्री, सचिवहरूसँगको समन्वयमा एउटा ह्वाट्सएप ग्रुप समेत बनाइएको र त्यसमार्फत सडकको अवस्था तथा यात्रुको व्यवस्थापनबारे जानकारी आदानप्रदान भइरहेको सिटौलाले जानकारी दिए । उनले बाटो सहज भएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने बताएका छन् ।
यता सडक डिभिजन भरतपुरले सडक अझै अवरुद्ध नै रहेकोले वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नु अनुरोध गरेको छ। नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै यात्रा गर्न आग्रह गरिएको हो ।
तपाईको प्रतिक्रिया