हेभी इक्युपमेन्ट संघ कास्कीको साधारणसभा , कार्यस्थलमा सुरक्षाको माग
- Pokhara Express
- २०८२ भाद्र २३ सोमबार
पोखरा एक्सप्रेस ,पोखरा । हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ ।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा उनीहरुले हेभी उपकरणहरु चलाउने चालक तथा सहचालकहरुको जीवनको सरक्षा हुनुपर्ने उनीहरुको माग छ ।
गण्डकी प्रदेश अपरेटर संघका महासचिव देवेन्द्र चोखालले सडक, पुल तथा हाइड्रोपावरको काम गर्दा सामान्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो गर्नुभयो । उहाँले अत्यन्त जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता सुनाउनुभयो ।
“देशको विकासका लागि भनेर हामी ठूला इक्युपमेन्ट चलाउँदै आएका छौँ । तर कार्यस्थलमा हाम्रो जीवनको सुरक्षा छैन । अत्यन्त जोखिम मोलेर संवेदनशील ठाउँमा काम गर्नुपरेको छ ।” चोखाललेभ भन्नुभयो । अपरेटरहरु दुर्घटनामा पर्दा समयमै उद्धार समेत नहुने गरेको उहाँको भनाई छ ।
हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले आफ्नो पेशालाई इमानदारीका साथ कुशल ढंगबाट निर्माण कार्य तथा सामाजिक कार्य गर्दै आएपनि जीवनको कुनै सुरक्षा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामी अपरेटरहरु देशको विकासका मेरुदण्ड हौँ, विकास गर्नका लागि भीर, पहाडसँग सिँगौरी खेलेका छौँ । हामीलाई अप्ठ्यारो पर्दा सरकारबाट कहिल्यै सहयोग पाएनौँ । ”
गौतमले राज्यद्धारा कानुनमा समावेश गरिएको अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हेभी इक्युपमेन्ट चालकहरुलाई समेत समावेश गर्न माग गर्नुभयो ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी)का अध्यक्ष जगत सिँखडाले अपरेटरहरु दुर्घटनामा पर्दा हेलिकप्टरबाट उद्धारको प्रवन्ध सरकारले गर्नुपर्ने बताउनुभयो ।
उहाँले अत्यन्त जोखिम र संवेदशील पेशामा रहेका श्रमिक तथा मजदुरहरुको जीवनको सुरक्षा र परिवारको उचित प्रवन्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“अहिले गाउँ गाउँमा व्यक्ति व्यक्तिले डोजर र एक्साभेटर किनेका छन् तर त्यसका चालक तथा सहचालकको सुरक्षामा कोही पनि जिम्मेवार छैनन् । चालकले सुरक्षित महसुस गर्ने वातावरण बन्नुपर्छ ।”
अपरेटरहरुको हित र उनीहरुको व्यावसायिक सुरक्षाका लागि संयुक्त ट्रेड युनियन समन्वयले काम गर्ने सिँखडाले प्रतिवद्धता जनाउनुभयो ।
समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ(एसआइटीयुसी)का अध्यक्ष नवराज दाहालले श्रमिकको मुद्धा र उनीहरुको उत्थानका लागि सबै एक ठाउँमा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तपाईको प्रतिक्रिया