पोखरा एक्सप्रेस ,काठमाडौँ ।
स्वास्थ्य संस्थामा बच्चा जन्माउन पुगेकी एक सुत्केरी महिलाले पैसाको अभावमा अस्पताल परिसर बाहिर बच्चा जन्माउनु परेको दर्दनाक घटनाको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।
प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद खगेन्द्र कर्णले गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटना उठाएका हुन् । कर्णले स्वास्थ्य उपचारको नाममा भइरहेको चरम लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।कर्णका अनुसार, सप्तरीका हरेराम पासवानकी श्रीमती बबिता पासवान सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुगेकी थिइन् । अस्पताल प्रशासनले ३२ सय रुपैयाँको बिल तिर्नुपर्ने बताएको थियो, तर उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो। पैसा अभावमा उपचारका लागि आनाकानी गरेपछि, अन्ततः अस्पताल परिसर बाहिरै ती महिलाले बच्चा जन्माउन बाध्य भइन्।
अस्पताल जस्तो संवेदनशील ठाउँमा सुत्केरी महिलालाई उपचार नपाएर अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य पार्नु सिङ्गो स्वास्थ्य प्रणालीकै लागि लज्जाको विषय भएको कर्णले टिप्पणी गरे।कर्णले भने– ‘गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न र असहाय नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो । तर, त्यही अस्पतालमा पैसाको अभावमा एक गर्भवती महिलालाई अस्पतालको गेटबाहिर सडकमै शिशु जन्माउन बाध्य बनाइयो। यो हाम्रो स्वास्थ्य प्रणालीको दयनीय अवस्था हो।’कर्णले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै भने, ‘हामी ठुला–ठुला कुरा गरेर बसिरहेका छौँ, तर गरिब, पीडित र दलित महिलाहरूको अवस्था के छ भन्ने कुरा यस घटनाले छर्लङ्ग पारेको छ।’
कर्णले सम्बन्धित मन्त्रीलाई तत्काल घटनाको सत्य तथ्य छानबिन गरी संसद् समक्ष यथार्थ विवरण पेस गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । उपचार नपाएर नागरिकले सडकमा बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने कर्णको माग छ।
तपाईको प्रतिक्रिया