माथिल्लो त्रिशूली–१ ले भन्यो– एक साताभित्र राहत प्याकेज
- Pokhara Express
- २०८३ भाद्र २२ सोमबार
पोखरा एक्सप्रेस ,रसुवा
भीषण बाढीबाट प्रभावित आफ्ना कर्मचारी तथा कामदारका परिवारका लागि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले एक साताभित्र राहत प्याकेज घोषणा गर्ने भएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) र ठेकेदार कम्पनीहरूले प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने गरी राहत प्याकेज तयार गरिरहेको जनाएको छ।बाढी आउँदा आयोजनाका विभिन्न क्षेत्रमा १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए। शनिबारसम्म ८७६ जनाको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन कामदार तथा कर्मचारीको खोजी र उद्धारलाई अहिले मुख्य प्राथमिकता दिइएको आयोजनाले जनाएको छ। सुरक्षा निकायसँग समन्वय गरेर सम्भावित रूपमा फसेका कामदारको खोजी भइरहेको छ।शनिबार आयोजनास्थलको एक स्थानबाट एक चिनियाँ कामदारलाई जीवितै उद्धार गरिएको थियो। त्यसपछि सुरूङ तथा आयोजनाका अन्य सम्भावित स्थानमा फसेका कामदारको खोजीलाई थप तीव्रता दिइएको छ।कम्पनीका प्रतिनिधि गिरिराज अधिकारीका अनुसार अहिले सम्पर्कविहीन कामदारको वास्तविक अवस्था यकिन गर्ने र उनीहरू कार्यरत रहेको स्थानको विवरण संकलन गर्ने काम भइरहेको छ।
‘अहिले पहिलो प्राथमिकता सम्पर्कविहीनहरूको खोजी र उद्धार हो। त्यससँगै प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सहयोगका विषयमा पनि तयारी भइरहेको छ,’ अधिकारीले भने।आयोजनाका अनुसार राहत प्याकेजमा प्रभावित परिवारको आधारभूत जीवनयापनमा सहयोग पुग्ने विषय समेटिनेछ। प्याकेजको विस्तृत विवरण भने एक साताभित्र सार्वजनिक गरिनेछ।बाढीपछि उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न केन्द्रित हुनुपरेकाले राहत प्याकेजको तयारीमा केही ढिलाइ भएको कम्पनीको भनाइ छ।
आयोजनामा इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) ठेकेदार दुसान कन्स्ट्रक्सन तथा सब–कन्ट्र्याक्टर पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एन्ड्रिच हाइड्रो कार्यरत छन्। यी कम्पनीले पनि आफ्ना कामदार तथा कर्मचारीको अवस्था यकिन गर्न खोजी गरिरहेका छन्।आयोजनाले बाढी बेला विभिन्न साइटमा कार्यरत कामदार तथा कर्मचारीको विवरण संकलन गरिरहेको जनाएको छ।
विभिन्न स्रोत तथा सरकारी निकायबाट प्राप्त सूचनाको पुष्टि भएपछि मात्रै सम्पर्कविहीन कामदारको अवस्थाबारे सम्बन्धित परिवारलाई जानकारी दिइनेछ।आफन्तको अवस्था अझै थाहा पाउन नसकेका परिवारले भने खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन माग गर्दै आएका छन्। उनीहरूले उद्धारसँगै प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न पनि कम्पनीसँग आग्रह गरेका छन्।
आयोजनाले बाढीमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।खोजी तथा उद्धारमा आवश्यक सहयोग जारी राख्ने र कामदार तथा कर्मचारीको अवस्थाबारे नयाँ विवरण प्राप्त हुनासाथ सार्वजनिक गर्दै जाने कम्पनीले जनाएको छ।
तपाईको प्रतिक्रिया