पोखरा एक्सप्रेस ,काठमाडौं।प्यूठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव फेला परेका छन्।
प्यूठान प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गए राती पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाको हुन सक्ने अनुमान गरिएको छ।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार प्यूठानमा मानिस हराएको वा पहिरो गएको घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले बगाएर शव प्यूठानसम्म ल्याएको हुन सक्ने अनुमान गरिएको हो।
फेला परेका शवको तस्बिरर रोल्पा प्रहरीलाई पठाइएको छ। तस्बिरका आधारमा केही शव पहिचान हुन सक्ने सम्भावना छ। रोल्पाको पहिरोमा बेपत्ता भएकाका शव प्यूठानमा भेटिएको हुन सक्ने सम्भावना रहेको रोल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि बताए।उनका अनुसार रोल्पाको लुंगी खोला माडी खोलामा मिसिने भएकाले बाढीले पहिरोमा परेका मानिस तथा शवलाई बगाएर प्यूठानसम्म ल्याएको हुन सक्छ। रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको पुष्टि भएको छ। घटनामा ९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया