नेपाली कांग्रेसकास्कीद्धारा विपि स्मृति दिवसमा विविध कार्यक्रममा
- Pokhara Express
- २०८३ श्रावाण ७ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाली कांग्रेस कास्कीले ४४ औँ बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवस सँगसँगै नेपाली कांग्रेसले सुरु गरेको जरा अभियान पनि समापन गरिएको छ।कास्की कांग्रेसले यसपटक विद्यार्थीबीच वक्तित्वकला प्रतियोगिता र पोखरा पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता गरेको नेपाली काँग्रेस कास्कीका सहससचिव एवम् प्रवक्त नबिन सिग्देलले जानकारी दिए ।
११ जना सहभागी नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदिप सिग्देल द्वितीय र संगीता गौतम तृतीय भएका थिए । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद २५ हजार, नगद १५ हजार र नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ।
त्यस्तै बीपीबाट आजका युवाले के सिक्ने ? विषयक वक्तित्वकला प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी थिए । सो प्रतियोगितामा एसओएसकि प्रेरिका बराल प्रथम , लक्ष्मी आदर्श माविकि सम्झना बेलवासे द्वितीय , एसओएसकै अनुजा गौतम तृतीय र रामज्योति माविकि स्वेच्छा परियार सान्त्वना भएका थिए । बीपी स्मृति दिवसका सन्दर्भमा आयोजित विशेष कार्यक्रममा उनीहरूको प्रस्तुतिलाई स्थान दिइएको थियो। सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद १० हजार, नगद ८ हजार , नगद ५ हजार र नगद २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले देश र जनताको पक्षमा निडर भएर काम गरेको उल्लेख गरे। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीका विचार र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरिन्।नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक क्षेत्र र साहित्यकार सञ्जीव पौडेलले साहित्य क्षेत्रसँग सम्बन्धित विषयवस्तुबारे चर्चा गरेका थिए । नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका प्रवक्ता धनञ्जय पौडेलले कास्कीमा जरा अभियानका क्रममा अध्यावधिक क्रियाशील सदस्यताको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले गरेका थिए भने उपसभापति युवराज कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।
तपाईको प्रतिक्रिया