पोखरा एक्सप्रेस ,पोखरा
जिल्ला समन्वय समिति कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाए पनि रातीको समय नदीबाट अवैध रूपमा बालुवा उत्खनन् तथा ओसारपसार भइरहेको पाइएको छ।जिल्लाका पाँचवटै स्थानीय तहले पनि यस अवधिमा नदीजन्य सामग्री निकाल्न रोक लगाएका छन्। त्यसका बाबजुद चोरीछिपी उत्खनन र बिक्री भइरहेको भन्दै नागरिकबाट गुनासा आएपछि प्रहरीले निगरानी बढाएको छ।
यसै क्रममा पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन् भइरहेको अवस्थामा प्रहरीले तीन वटा टिपर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राती करिब १०ः२५ बजे सेती गण्डकी नदी किनारमा बालुवा उत्खनन् भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा ‘लोड’ गरिरहेका तीन वटा टिपर र चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरमा पठाइएको थियो। महानगरले प्रत्येक सवारीसाधनलाई १५ हजारका दरले जरिवाना गरेर छाडेको उनले बताए।
प्रहरी नायब उपरीक्षक पासवानले नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारविरुद्ध निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने बताए।
जिल्ला समन्वय अधिकारी नवराज बरालले ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म नदीबाट उत्खनन र संकलन गर्न नपाइने उनको भनाइ छ।
विकास निर्माणका काम प्रभावित नहुने गरी कानुन र मापदण्डको पालना गर्नु आवश्यक रहेको बताउँदै उनले अवैध उत्खनन रोक्न सरोकारवाला निकाय, व्यवसायी र स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गरे। निर्णयको अवज्ञा गर्ने जोकोहीलाई कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिए।–रासस
तपाईको प्रतिक्रिया