भारत र नेपालबीचको साझेदारी फलदायी रहेको भारतीय दूताबासका प्रथम सचिव सुमनको भनाइ
- Pokhara Express
- २०८२ फागुन १३ बुधबार
पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग
पोखरा एक्सप्रेस ,पोखरा ।
नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् ।
दूताबासका वाणिज्यतर्फका प्रथम सचिव सुमनले हालै भारतमा भएको स्टार्ट अपको महाकुम्भ तथा आइटी सम्मेलनमा नेपालको तर्फबाट भएको सहभागिता अर्थपूर्ण रहेको पनि बताए ।
प्रथम सचिव सुमन उनको सम्मानमा बुधबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै थिए । उनले सूचना प्रविधि र स्टार्ट अपसम्बन्धी अब आयोजना हुने मेलामा पनि नेपाली सहभागिता सुनिश्चित हुने बताए । स्टार्ट अप र कृतिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा नेपाल र भारतबीच साझेदारी गरिने उनको भनाइ थियो ।
उनले भारतले नेपाली उत्पादनको प्रवद्र्धनका साथै भौतिक निर्माणमा गरेको सहयोगको स्मरण गर्दै हाल नेपालबाट १२ सय मेघावाट विद्युत आयात गरिरहेको भारतले आउँदो १० वर्षमा १० हजार मेघावाट विद्युत खरिदको सम्झौता गर्दै यहाँको जलविद्युत विकासमा पनि सघाएको धारणा राखे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सोझै यात्राको वातावरण तथा भारतीय पर्यटकलाई नेपाल भित्र्याउनका निम्ति सहयोगको आग्रह गरेकोमा प्रथम सचिव सुमनले यी दुबै मागप्रति आफू सकारात्मक भएको बताए ।
अध्यक्ष कार्कीले स्वागत मन्तव्यको क्रममा एयरपोर्ट संचालनसँगै, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषय पनि उठान गरेका थिए ।
समान संस्कृति भएका नेपाल र भारतलाई आस्थाले पनि जोडेको चर्चा गर्दै अध्यक्ष कार्कीले भनेका थिए,‘रोजगारीदेखि उपचार र अध्ययनका लागि नेपालबाट दैनिक हजारौँ नागरिक भारत पुग्ने गरेको तथ्यबारे प्रथम सचिवज्यू जानकार हुनुहन्छ । यसरी भारत जाने नेपालीहरुको सहजताको निम्ति पोखरा– दिल्ली,पोखरा–वाराणसीबीच सोझो हवाइ यात्रा होस् भन्ने हाम्रो चाहना रहेको छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनेको छ । दुई ठूला राष्ट्रबीच रहेको नेपाल दुबै छिमेकीसँग असल मित्रता चाहन्छ । दुबैले दिएको सहयोग स्वीकार्छ । मित्रराष्ट्र चीन सरकारको ऋण सहयोगबाट निर्मित यो विमानस्थलबाट भारतीय सहरमा किन उडान भएन भन्नेबारे विभिन्न टिका टिप्पणी भएको हामीले सुन्दै आएका छौँ । म प्रथम सचिवज्यूसमक्ष पोखराबाट भारतीय सहरहरुमा उडान सुनिश्चिताको पहल कदमी लिइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
अध्यक्ष कार्कीले धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नका निम्ति भारतका विभिन्न सहरहरुमा प्रवद्र्धनात्मक गतिविधि गर्न पोखराको निजी क्षेत्र तयार रहेको बताउँदै त्यसको सहजीकरणको अनुरोधसमेत गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला उद्यमीबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धनका निम्ति भारतीय सहयोगको अपेक्षा राखेकी थिइन् भने उपमहासचिव सुदीप प्रधानाङ्गले भारतबाट सामानहरु आयात गर्दा ढुवानी खर्च कम गर्नेतर्फ सहजीकरणको आग्रह गरेका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया