हुम्लामा निर्वाचनः ६४ मध्ये १५ मतदान
- Pokhara Express
- २०८२ फागुन १३ बुधबार
पोखरा एक्सप्रेस ,हुम्ला।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन्।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन्।
यहाँ पुग्न गाउँपालिका केन्द्रबाट पैदल एक दिन लाग्छ, जहाँ सडक सञ्जालले छोएको छैन। सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन्। वडा–१ को देवल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ जना मतदाता रहेका निर्वाचन अधिकारी रोकायाले बताए।
त्यस्तै, चंखेली गाउँपालिकामा पनि तीनवटै मतदान केन्द्र छन्। यसमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा २४२ मतदाता छन्। उक्त गाउँमा जान पनि गाउँपालिकाको केन्द्रबाट पैदलयात्रा गर्दा पूरा एक दिन लाग्छ जहाँ सडक पुगेको छैन। अन्य रारा आधारभूत विद्यालय मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ जना मतदाता छन्।
अन्य आठवटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा छन्। सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता छन् । तर यी तिनै गाउँमा यतिबेला १५÷२० जनाबाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमै रहेका छन्।
अरनिको प्रावि यारीमा १९५, खासरपानी प्रावि मुचुमा २३४, हिमालय प्रावि चालामा १५९, महाबौद्ध मावि याल्वाङमा २८० र नमोडोछोमु प्रावि तांघीनमा १५९ मतदाता छन्। यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ भने केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए।
उनका अनुसार स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु भए पनि असम्भवजस्तै देखिएको छ। जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा एक हजार ६३ मतदाता रहेका छन्।
त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताए।–रासस
तपाईको प्रतिक्रिया