दुईपांग्रे ईभी आयात दोब्बरः इन्धनतर्फ १२५ सीसी सेग्मेन्टको वर्चस्व
- Pokhara Express
- २०८२ फागुन १३ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
पछिल्लो समय नेपाली बजारमा दुई पांग्रे विद्युतीय सवारी (ईभी)को आयात उल्लेख्य रुपमा बढेको छ। भन्सार विभागका तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा दुई पांग्रे ईभीको आयात अघिल्लो वर्षको तुलनामा करिब दोब्बरले वृद्धि भएको छ। कम संचालन खर्च, बढ्दो इन्धन मूल्य र सरकारी प्रोत्साहनका कारण उपभोक्ता ईभीतर्फ आकर्षित हुँदै गएको हो।
यद्यपि, इन्धनबाट चल्ने मोटरसाइकलमा भने १२५ सीसी सेग्मेन्टको वर्चस्व कायम राखेको छ। यो सेग्मेन्टका मोटरसाइकल किफायती मूल्य, राम्रो माइलेज र सन्तुलित पावरका कारण सबैभन्दा बढी रुचाइएका छन्।
अटो व्यवसायीहरूका अनुसार ईभीको पूर्वाधार विस्तार, चार्जिङ स्टेसनको उपलब्धताले विद्युतीय दुई पांग्रे बजारलाई थप टेवा पु¥याएको छ। अर्कोतर्फ, परम्परागत इन्धन मोटरसाइकलमा भने १२५ सीसी श्रेणीले बिक्रीको ठूलो हिस्सा ओगटेको छ। जसले यो सेग्मेन्ट अझै पनि उपभोक्ताको पहिलो रोजाइमा रहेको संकेत गर्छ।
चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन माघ)सम्मको अवधिमा दुई पांग्रे ईभीको आयात दोब्बरले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। सात महिनाको अवधिमा १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको १२ हजार ५२१ युनिट दुई पांग्रे ईभी आयात भएको छ। उक्त आयातबाट सरकारले ४१ करोड ९६ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा भने ५६ करोड रुपैयाँ बराबरको ५ हजार ९७२ युनिट दुई पांग्रे ईभी आयात भएको थियो। उक्त आयातबाट सरकारले १९ करोड ८५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
गत आर्थिक वर्ष एक वर्षको अवधिमा ११ हजार ३१८ युनिट दुई पांग्रे ईभी आयात भएकोमा चालू आवको ७ महिनामै १२ हजार ५२१ युनिट आयात भएको छ। विगतका वर्षमा एक वर्षको अवधिमा आयात हुने ईभी यस वर्ष भने ७ महिनाको अवधिमा नै भएको देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म १८ अर्ब २२ करोड ८६ लाख रुपैयाँ बराबरको १ लाख ४२ हजार २०८ युनिट पेट्रोलबाट चल्ने दुई पांग्रे बाइक तथा स्कुटर आयात भएका छन्। उक्त आयातबाट सरकारले १७ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
समग्र दुई पांग्रे सवारीको आयातमा सबैभन्दा धेरै १२५ सीसी सेग्मेन्टको आयात भएका छन्। चालू आवमा ८९ हजार ६९९ युनिट १२५ सीसी सेग्मेन्ट बाइक तथा स्कुटर आयात भएको देखिन्छ।
गत वर्ष सोही अवधिमा १४ अर्ब ९ करोड रुपैयाँ बराबरको १ लाख १७ हजार ७८ युनिट मात्र दुई पांग्रे सवारी आयात भएको थियो। उक्त आयातबाट सरकारले १४ अर्ब ४६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा ७५ हजार ७९९ युनिट १२५ सीसी सेग्मेन्टमा स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।
तपाईको प्रतिक्रिया