अटोमेटिक रुटमा ५० करोडको बन्देज निर्णय कार्यान्वयन
पोखरा एक्सप्रेस ,काठमाडौं।
सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) सीमा हटाउने निर्णय कार्यान्वयन तहमा लगेको छ। यसअघि स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्मको मात्रै एफडीआई स्वीकृत हुने गरेको थियो।
माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने निर्णय गरेको थियो। ‘तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने,’ मन्त्रिपरिषद् निर्णयमा उल्लेख छ।
२०८० असोज १५ मा राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी लगानी ५० करोड रुपैयाँसम्म हुने उल्लेख छ। सरकारले सोही सीमा हटाएको हो।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसाय क्षेत्र तोकेको थियो। तल्लो सीमा भने २ करोड यथावत छ। अधिकतम सीमा कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित भइसकेको छ। अब स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको अधिकतम सीमा हुने छैन।
प्रविधिमूलक उद्योगका हकमा भने न्यूनतम सीमा लागु नहुने सूचनामा उल्लेख छ। यसले उद्योग दर्ता सहज र कागजरहित बनाउनेछ भने वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।
तपाईको प्रतिक्रिया