स्व.लक्ष्मी सुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पिडितलाई रु एक लाख सहयोग हस्तान्तरण
- Pokhara Express
- २०८२ फागुन ३ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा।
पोख्रेली व्यवसायी घराना कर्माचार्य ग्रुपद्धारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले शनिवार मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरेको छ ।
कास्कीको सार्दीखोला बस्ने ४९ बर्षिय मृगौला पिडित बुद्धीशोभा गुरुङलाई १ लाख रुपैँया हस्तान्तरण गरिएको हो ।
कर्माचार्य परिवारले ३० लाख रुपैँयाको कोष स्थापना गरि सो सहयोग रकम हस्तान्तरण गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मृगौला रोगबाट पिडित हुने परिवारलाई सो सहयोगले हौसला प्रदान गर्नुका साथै समाजलाई समेत मार्गनिर्देश गर्न प्रेरणा मिलेको बताउनुभयो ।
मेयर आचार्यले गतबर्ष आफै अग्नी दुर्घटना परेको स्मरण गर्नुहुदै पोखरामा जलन अस्पताल यसै हप्ताबाट सुरु हुन लागेको जानकारी दिनुभयो ।
स्याङ्जा भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कर्माचार्यले मृगौला रोगी बिरामीको संख्या बढ्दै जादा पालिका अस्पतालमा डायलासिस मेसिनको आवश्यकता महसुस भएको बताउनुभयो ।
मणिपाल अस्पतालका न्युरोसर्जन डा.बालगोपाल कर्माचार्यले नसर्ने रोगबाट मर्नेको संख्या बढ्दै गएकाले नियमित रुपमा स्वास्थ्य जाँच गर्न आग्रह गर्नुभयो ।
उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले लेख्नुभएको संसार आफ्नै एक उद्यमीले बाचेको समय नामक पुस्तकको नगरप्रमुख आचार्य लगायतले लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले पुस्तकको समिक्षा गर्दै पुस्तकले उद्योग व्यवसायी क्षेत्रमा लाग्न प्रेरणादयी भुमिका दिनुको साथै समाज प्रतिको जिम्मेवारी र पारिवारीक एकताका बारेमा सचित्रण गरेको बताउनुभयो ।
सो अवसरमा बोल्नुहुदै उद्योगपति एवं स्व.लक्ष्मी सुन्दरी कर्माचार्यका पति कर्माचार्यले आफ्नो सफलताको श्रेय स्व.श्रीमतीलाई दिनुहुदै पुस्तकको बारेमा भनाई राख्नुभएको थियो ।
स्व. लक्ष्मी सुन्दरी कर्माचार्यका छोरी रेखा कर्माचार्यले हरेक बर्ष एकजना बिरामीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्दता जिवन्त रहने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष आनन्दराज मुल्मीले राज्यले जनताको स्वास्थ्य प्रतिको जिम्मेवारी लिनुपर्ने बताउदै नसर्ने रोगको जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कर्माचार्य समाज कास्कीको पाँचौ स्थापना दिवस समारोहमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, मृगौला पिडित छनोट समितिका सदस्य कल्याण कर्माचार्य, ईश्वर कर्माचार्य, पोखरा ११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, लगायतका वक्ताहरुले रोग लाग्नुभन्दा पनि रोग नै लाग्न नदिनु उचित हुने बताउनुभयो ।
तपाईको प्रतिक्रिया