पोखरा एक्सप्रेस ,पोखरा ।
ने क पा( एमाले )पोखरा २१ वडा कमिटीले पोखराको फोहोर सो वडामा डम्पिङ तयारी गरिएको भन्दै बिरोध गरेको छ।
वडा कमिटी अध्यक्ष राजेन्द्र बहादुर थापाले बिहीवार एक बिज्ञपति जारी गर्दै उक्त तयारी प्रती असहमति जनाउदै यदि सो कार्य अघि बढाइए कडा संघर्षका कार्यक्रम गर्ने उल्लेख्य गरेका छन।
बिज्ञप्तिमा पोखरा महानगरपालिका–२१ को भौगोलिक सीमाभित्र फोहोर व्यवस्थापन गर्ने नाममा डम्पिङ गर्ने तयारी गरिएको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा नं. २१ को गम्भीर ध्यानाकर्षण भएको थापाले भनेका छन।
“पोखरा महानगरपालिका ३३ वडाहरूको साझा संरचना हो। सम्पूर्ण महानगरको फोहोर व्यवस्थापनको दायित्व एउटै वडाको भूगोलमाथि थोपर्ने कार्य न्यायोचित, व्यवहारिक र वैज्ञानिक दृष्टिले समेत उपयुक्त हुन सक्दैन। वातावरणीय प्रभाव मूल्याङ्कन, जनस्वास्थ्यको संवेदनशीलता तथा दीर्घकालीन पर्यावरणीय असरलाई बेवास्ता गर्दै हतारमा निर्णय लिनु महानगरको गैरजिम्मेवार तथा निकृष्ट कार्य हो।
वडा नं. २१ प्राकृतिक सम्पदा, कृषियोग्य जमिन, बस्ती संरचना तथा जैविक विविधताका हिसाबले संवेदनशील क्षेत्र हो। यहाँ अवैज्ञानिक ढंगले फोहोर फाल्ने निर्णयले स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने निश्चित छ।
यस प्रकारको एकतर्फी र अलोकतान्त्रिक निर्णय तत्काल रोक्न, वातावरणीय तथा प्राविधिक अध्ययनसहित सबै सरोकारवालासँग छलफल गरेर दिगो र वैज्ञानिक समाधानको बाटो रोज्न हामी पोखरा महानगरपालिकासँग जोडदार माग गर्दछौं।
यदि यस विषयमा तत्काल पुनर्विचार गरिएन भने स्थानीय जनताको भावना र अधिकारको रक्षा गर्न नेकपा (एमाले) वडा नं. २१ आवश्यक आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य हुनेछ भन्ने समेत स्पष्ट पार्न चाहन्छौं।
जनस्वास्थ्य, वातावरण संरक्षण र दिगो विकासप्रति प्रतिबद्ध रहँदै जिम्मेवार निर्णय गर्न सम्बन्धित निकायलाई हामी पुनः आग्रह गर्दछौं। “बिज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया