राष्ट्रिय सभागृहमा कुमार नगरकोटीको साङ्गीतिक काव्य सन्ध्या ‘यदाकदा’
- Pokhara Express
- २०८२ पौष ७ सोमबार
पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाली साहित्यका प्रख्यात एवम् प्रयोगधर्मी साहित्यकार कुमार नगरकोटीकोे कविता र सङ्गीतको विशेष जुगलबन्दी ‘यदाकदाः साङ्गीतिक काव्य सन्ध्या’ आगामी पुस १० गते बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ ।
कम्युनिकेट टेक्नोलोजी प्रालिको आयोजनामा हुने यस कार्यक्रममा नगरकोटीले आफ्ना चर्चित एवम् नवीनतम् सिर्जनाहरू वाचन गर्नेछन् भने उनलाई युवा सङ्गीतकार अनुप तिमिल्सिनाले साङ्गीतिक साथ दिनेछन् ।
बिहीबार साँझ ५ः०० देखि ७ः३० बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा नगरकोटीले कवितालाई केवल शब्दोच्चारणको रूपमा मात्र नभई एउटा जीवन्त प्रदर्शनका रूपमा प्रस्तुत गर्नेछन् । नगरकोटियन शैलीको ‘लक्जरी लुक’ र विशिष्ट शब्द शिल्पलाई केन्द्रमा राखेर तयार पारिएको यस साँझमा सङ्गीत केवल पृष्ठभूमिमा नभई कवितासँगै सहसंवादका रूपमा बग्ने आयोजकले जनाएको छ ।
कार्यक्रमका परिकल्पनाकार राजन गोदारले व्यस्त जीवनको रुटिनबाट थाकेका मानिसहरूका लागि यो कार्यक्रम एउटा ‘आत्मिक विश्राम’ हुने बताए । गोदारका अनुसार सशुल्क टिकटमार्फत कविता सुनाउने दुस्साहस गर्नुको मुख्य उद्देश्य नेपाली पाठक र दर्शकको आफ्नै भाषा, साहित्य र सर्जकप्रतिको प्रेम कस्तो छ भनी बुझ्नु पनि हो । गोदारले भने, ‘यदाकदा जिन्दगीको रुटिनदेखि विरक्त लागेर कल्पना गरिएको सो हो, जहाँ कविता र सङ्गीतमार्फत मौनतालाई सुन्ने र अँध्यारो अनुभूतिलाई साझेदारी गर्ने अवसर प्राप्त हुनेछ ।’
नेपाली आख्यानमा दार्शनिक र स्वैरकल्पनायुक्त लेखनका लागि परिचित नगरकोटीले यस कार्यक्रमको तयारीका लागि विगत २१ दिनदेखि शिल्पी थिएटरमा रिहर्सल गरिरहेका छन् । विशेषगरी आफ्नो नयाँ कविता ‘बोहेमियन खानाबदोश’ लाई जीवन्त बनाउन उनले हालै आर्यघाटमा पुगेर यलम्बर बाजाका साथ रिहर्सल समेत गरेका थिए ।
साहित्यिक वृत्तमा कुमार नगरकोटी केवल एक लेखक मात्र नभई एउटा ‘ब्रान्ड’ र ‘दर्शन’ का रूपमा स्थापित छन् । उनको हुलिया र ‘लक्जरी लुक’ लाई कतिपयले फेसनका रूपमा बुझे तापनि त्यो वास्तवमा स्थापित शैलीहरूप्रति उनको ‘भद्र अवज्ञा’ रहेको आयोजकको बुझाइ छ । नगरकोटीका सिर्जनाहरूजस्तै उनको व्यक्तित्व पनि चुम्बकीय र अनौठो छ ।
राष्ट्रिय सभागृहको विशाल प्रेक्षालयमा पहिलो पटक हुन लागेको यस प्रकारको साङ्गीतिक काव्यिक उत्सवका लागि टिकटहरू अनलाइन प्लेटफर्म इसेवा र थुप्रै डट कममार्फत खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
तपाईको प्रतिक्रिया