पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न
- Pokhara Express
- २०८२ मंसिर ३० सोमबार
पोखरा एक्सप्रेस ,पोखरा ।
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखेर स्थानीय उत्पादनहरु मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोलाको प्रदर्शनी र बिक्री गरिएको थियो ।
कलेजका विद्यार्थीहरुले स्वयंसेवकरुपमा खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरूका स्टलहरु संचालन गरेका थिए । स्टल व्यवस्थापनमा कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू सक्रिय सहभागी बनेको क्याम्पस प्रमुख श्रेष्ठको भनाइ छ ।
कलेजका ईसीए संयोजक अमोद प्रसाद कोइरालाले दिएको जानकारी अनुसार कार्यक्रमलाई अझ मनोरञ्जक बनाउन विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लाखेनाच लगायतका आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको कला, सिर्जनशीलता र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्निभल कलेजको महत्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको कोइरालाको भनाइ छ ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय पोखरेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो । साँझ भएको लाइभ कन्सर्टमा ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन दिएको थियो । कार्निभललाई विभिन्न व्यक्तिहरू, संस्थाहरू र कलेजका साझेदारहरूले प्रायोजन तथा सहयोग गरेका थिए । कार्यक्रमकाे सचालन कलेजका विद्यार्थी सफल सुवेदी र पूर्वविद्यार्थी सपना गायकले गरेका थिए ।
कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले जानकारी दिएका छन् । सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम कलेजकै मौलिक पहिचान बनेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया