पोखराको लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी: मंसिर २६ मा हुँदै
- Pokhara Express
- २०८२ मंसिर २४ मङ्गलबार
पोखरा एक्सप्रेस ,पोखरा ।
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा आयोजना गर्ने भएको छ। पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताले भरिपूर्ण हुने कलेजले जनाएको छ। कलेजले केही वर्षयता निरन्तर गर्दै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत गर्न लागिएको कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार, कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखिने छन्, जहाँ मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिनेछ। त्यसैगरी, खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरू विद्यार्थी स्वयंसेवकहरूले नै सञ्चालन गर्नेछन्। कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू स्टल व्यवस्थापनमा सक्रिय रहने क्याम्पस प्रमुख श्रेष्ठले बताए। कार्यक्रमलाई अझ मनोरञ्जक बनाउन कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लाखेनाच लगायतका आकर्षक प्रस्तुतिहरू राख्ने तयारी अघि बढाइएको ईसीए संयोजक अमोद प्रसाद कोइरालाले बताएका छन्। उनका अनुसार, विद्यार्थीहरूको कला, सिर्जनशीलता र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्निभल कलेजको महत्त्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। साँझ हुने लाइभ कन्सर्टमा ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको प्रस्तुति रहनेछ। साथै, विभिन्न व्यक्तिहरू, संस्थाहरू र कलेजका साझेदारहरूले कार्निभललाई प्रायोजन तथा सहयोग गर्ने कलेज प्रशासनले जनाएको छ। कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार, कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको छ। सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम पनि कलेजकै मौलिक पहिचान बनेको छ। वि.सं. २०६४ मा स्थापना भएको त्रिविबाट सम्बन्धनप्राप्त लेकसिटी कलेजले विविएस, विएएसडब्लु (समाजसेवा), र विए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। वार्षिक सय विद्यार्थी भर्ना क्षमता रहेको कलेजमा हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शैक्षिक उत्कृष्टता र खेलकुदमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएकोमा कलेज प्रशासन गौरवान्वित छ।
तपाईको प्रतिक्रिया