गण्डकी प्रदेश प्रमुखबाट उधौली पर्वका अवसरमा शुभकामना
- Pokhara Express
- २०८२ मंसिर १९ बिहीबार
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवद्र्धन र प्रकृति प्रेमको प्रतीकका रुपमा रहेका यी पर्वहरुका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।
‘यी चाडहरुमा इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसर समेत प्रदान गर्ने भएकोले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ – ‘यस्ता चाडपर्वहरूबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।’
किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूले मनाउने उधौली पर्व कृषि प्रणालीमा आधारित छ । प्रकृतिपूजक किराँत समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रुपमा यो पर्व मनाउने गर्दछन् ।
परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यो पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ ।
उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व यःमरि पुन्ही पनि कृषि प्रणालीसँग सम्बन्धित छ । नयाँ भित्राइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासमा यो पर्व मनाउने चलन छ ।
आज नै धान्य पूर्णिमा पनि हो । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्राएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।
तपाईको प्रतिक्रिया