“स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” कार्यक्रमको सम्पूर्ण तयारी पुरा
- Pokhara Express
- २०८२ मंसिर १९ बिहीबार
पोखरा एक्सप्रेस ,पोखरा
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले मंसिर १८ गते बिहीबार आयोजना गर्ने “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” को सम्पूर्ण तयारी पुरा भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को समेत संयुक्त आयोजनामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रम पोखराको महेन्द्रपुलमा रहेको फाल्चामा साँझ साढे ४ बजेबाट सुरु हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा उपस्थित भएर सारङ्गीका धुन मार्फत झलकमान गन्धर्व र नारायण गोपाललाई स्मरण गर्न सकिने भएकोले सबैजनालाई उपस्थित भएर साथ दिन संयोजक पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अध्ययनरत विद्यार्थीले सारङ्गीको धुनमा झलकमान र नारायण गोपालका गीत सुनाउनेछन् ।
कार्यक्रमलाई भव्य बनाउन प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ३, वडा नम्बर ११, वडा नम्बर १२, वडा नम्बर १३, वडा नम्बर १४ र वडा नम्बर २६ सहित पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एसके साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन, समय नेपाल र नेवा मिसस् पुचस् कास्की लगायतको सहयोग गरेका छन् ।
रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो । रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । २५ वर्षको अवधिमा रेडियोले सञ्चार क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ ।
तपाईको प्रतिक्रिया