पोखरा एक्सप्रेस , पोखरा ।।
नेपालको ७७ जिल्लाका मनोरम दृश्य, संस्कृति र पर्यटन सम्भावनालाई एकै क्यान्भासमा उतार्दै तयार पारिएको ‘नेपाल कला यात्रा’ पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लोकार्पण गरेका छन्।
उनले सुर्खेतमा सोमबार(आज) आयोजित एक समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल’ बनाउने महाअभियानको मुख्य आधार मानिएको यस पुस्तकमा प्रत्येक जिल्लाका कम्तीमा तीन वटा हेर्न र घुम्न उपयुक्त गन्तव्यहरूलाई यस अभियानका अभियन्ता तथा प्राज्ञ नगेन सिंह ठकुरीले निकै सुन्दर रूपमा क्यान्भासमा उतारेका छन् ।
प्राज्ञ ठकुरीद्वारा प्रकाशित यस पुस्तकले दृश्यकला र पर्यटन प्रवर्द्धनलाई एउटै यात्रामा जोड्ने प्रयास गरेका छन् ।
उनी यस पुस्तकलाई विश्वका १ सय ९७ भाषामा अनुवाद गरी प्रत्येक देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा कम्तिमा ३ सय वटा पुस्तकहरू वितरण गरी २०८७ सालमा नेपालमा १ करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढिरहेका छन्।
त्यस्तै उनका अनुसार यस अभियानमार्फत यहाँको कला, संस्कृति र भौगोलिक विविधताबारे नेपाललाई विश्वसामु चिनाउनु पनि आफ्नो उद्देश्य रहेको बताए।
विषेशगरी नेपाल कला यात्राको बीउ २०६७ कार्तिक ६ गते लुम्बिनीमा रोपिएको थियो। त्यसपछि २०७१ जेठ ३० गते र्यापर यमबुद्धसँगै ताप्लेजुङ पुगेका ठकुरीले पाथिभारा मन्दिरलाई क्यान्भासमा उताउँदै औपचारिक रूपमा सुरुवात भएको घोषणा गरिएको थियो।
यसै क्रममा ७७ जिल्लाको चित्रहरूको सँगालो ‘नेपाल कला यात्रा’ ७७ जिल्लामा वितरण गर्ने उद्देश्यले टोली सुर्खेत पुगेको नेपाल कमर्सियल आर्टिस्ट संघका केन्द्रीय उपाध्यक्ष सुभाष शाक्यले जानकारी दिए ।
यस्तै यस पुस्तकको एउटा पृष्ठमा सुर्खेतको पहिचान पनि झल्किएको छ। २०७४ सालमा प्राज्ञ ठकुरीले क्यान्भासमा उतारेको बुलबुले तालको कलाकृति पुस्तकको २६औँ पृष्ठमा समावेश गरिएको छ । जसले कर्णालीको प्राकृतिक सौन्दर्यलाई क्यानभासमा आकर्षक रूपमा उतारिएको छ।
तपाईको प्रतिक्रिया