सयपत्री सहकारीको १६ औं वार्षिकोत्सव
- Pokhara Express
- २०८२ मंसिर १ आइतबार
पोखरा एक्सप्रेस ,पोखरा ।
सयपत्री सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । विभिन्न सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको सहकारीले उत्कृष्ठ कारोबार गर्ने, एसईइमा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान तथा सहकारी प्रशिक्षण दिँदै नियमित वार्षिकोत्सव सम्पन्न गरेको सहकारीले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीले सामाजिक कार्यमा देखाएको अग्रसरता सकारात्मक भएको बताएका थिए । उनले संस्थागत गतिशीलताको प्रशंसा गर्दै सहकारी क्षेत्रको विकासमा रचनात्मक गतिविधिले प्रेरणादायी भूमिका खेल्ने बताए । उनले आगामी दिनहरुमा मानव सेवा सँगै आर्थिक विकास र स्थानीय क्षेत्रको विकास निर्माणमा ध्यान दिन सक्नु पर्नेमा जोड दिएका थिए । सहकारीबाट लाभांस भन्दा पनि सेयर सदस्यले गर्ने असल कारोबारले सहकारीको भविष्य निर्धारण हुने बताए ।
सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालक सहकारीका सचिव बसन्तराज कोईरालाले गरेका थिए । सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाले स्वागत गरेको सभामा सल्लाहकार विश्वराज बस्तोलाले ऋण असुलीमा स्ट्रोङ मेकानिजम आवश्यक रहेको बताए । आर्थिक संकट, बलियो धितो र सेयर सदस्यको सुझावलाई गहन ढंगबाट नियाल्न सञ्चालक समितिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका दीपकप्रसाद घिमिरेले दोहोरो सदस्यता कायम हुँदा सहकारीहरुमा समस्या परेको भन्दै पारदर्शिता अपनाउन, कार्यक्षेत्र तौक्न, ठूलो लगानी नगर्न, प्रबन्धकलाई तालिमको व्यवस्था गर्न, आवश्यक कर्मचारीमात्र राख्न, ऋण असुलीमा ध्यान दिन सक्नु पर्नेमा जोड दिएका थिए । सभामा अध्यक्ष टीकाबहादुर कार्कीले अध्यक्षको, सचिव वसन्तराज कोइरालाले सचिवको र कोषाध्यक्ष नारायणप्रसाद बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २ अर्ब बढी कारोबार गर्दै आएको सयपत्री सहकारीको नेतृत्व गरिरहेका अध्यक्ष कार्कीले संस्थालाई जीवित, सक्रिय र विश्वसनीय बनाउन सवैको पहल आवश्यक हुने बताएका थिए । समाजसेवामा राम्रो छाप बनाएका कार्कीले सदस्यहरुको अमूल्य योगदानले आजसम्म पोखराको नमूना सहकारीमा स्थापित भएको बताए । अध्यक्ष कार्कीले संस्थाको निरन्तर प्रगतिको लागि कारोबार गर्दा सयपत्रीलाई नै सम्झन आग्रह गर्दै सहकारीमा अनावश्यक आर्थिक भार पर्ने गतिविधि रोक लगाएको बताए ।
कार्यक्रममा सहकारीका प्रबन्धक विकाश सुवेदीले सहकारीले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व, पारदर्शिता र सदस्यको सेवामा समर्पित रहिरहेको बताएका थिए । आर्थिक गतिविधि बारे प्रस्ट्याउँदै सयपत्री सहकारीको सवै सूचक अत्यन्त राम्रो भएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया