देशैभरी एमालेको जनप्रदर्शन
- Pokhara Express
- २०८२ कातिर्क २७ बुधबार
पोखरा एक्सप्रेस ,काठमाडौं।
नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध आजै देशैभरी गरेको जनप्रर्दशनमा उत्साहका साथ कार्यकर्ता र जनता सहभागी भएका छन् । जेन जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको विध्वंस र तोडफोडपछि दलका कार्यकर्ताहरुको गिरेको मनोबल एमालेको जनप्रदर्शनले उकासेको सहभागीहरुले बताएका छन् ।
एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र र संसद पुनस्र्थापनाको माग गर्दै देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अस्ती २२ गते देशैभरीका वडा भेला भएका थिए भनेर आज अधिकांस पालिकाहरुमा जनप्रदर्शन भएका छन् । आजको जनदप्रर्दशनलाई पार्टीका नेताहरुले विभिन्न ठाउँमा सम्बोधन गर्नुभएको छ ।
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको खैरहनी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्नु भएको छ । पाण्डेले भदौ २४ पछि सबैभन्दा पहिला सडक आन्दोलन मार्फत प्रतिगमनकारी कदमका विरुद्ध कार्यकर्ता र जनतालाई एमालेले अघि सारेको बताउनुभयो ।
यसैगरी महासचिव शंकर पोखरेलले काभ्रेको बनेपामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जेन जी आन्दोलनका नाममा विध्वंस मच्चाउने काममा माओवादी,रास्वपा र दुर्गा प्रसाईंहरुको भूमिका रहेको बताउनुभएको छ । उहाँले पश्चिमा पुँजीवादीहरुले प्रविधिसँगै हुर्किएको पुस्ताको दुरुपयोग गरेर नेपालमा विध्वंस मच्चाएको बताउनुभयो ।
हामीलाई प्राप्त समाचार अनुसार पालिका पालिकामा यस अघि भन्दा ठुलो सहभागितामा कोणसभाहरु भएका छन् । उदयपुरका आठवटै पालिकामा मोटरसाइलक र्याली सहित जनप्रदर्शन भएका छन् । पालिकाहरुले प्रत्येक वडावडाबाट कार्यकर्ता र जनता र्यालीमा सहभागी गराएका छन् । पाल्पाका पनि दुईवटा नगरपालिका सहित १० वटै पालिकाहरुमा जनप्रदर्शन भएको सचिव रामजी पोखरेलले जानकारी दिनुभयो । पाल्पामा कहिं अन्तरक्रिया,कहीं प्रशिक्षण त कतै जनभेला भएका छन् ।गुल्मीमा भएका जनप्रदर्शनमा शुसीला कार्कीको सरकार असंवैधानिक भएको भन्दै त्यसलाई बिस्थापित गर्दै संसद पुनस्र्थापना मार्फत संविधालनाई लिकमा फर्काउने माग गरिएको छ ।
झापाको मेचीनगरमा बृहत मोटरसाइकल र्याली आयोजना गरिएको छ । दमक,गौरादह,विर्तामोड,बुद्धशान्ती लगायतका पालिकाहरुमा र्यालीले पालिका परिक्रमा गरेर कोणसभा गर्दै कार्यक्रम समापन गरिएको छ । बुद्धशान्तीको कार्यक्रममा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल,गौरादहको कार्यक्रममा केन्द्रीय सदस्य दिपक कार्कीले सम्बोधन गर्नुभएको छ ।
यस्तै पोखरा महानगरको कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी खगराज अधिकारीले सम्बोधन गर्नुभएको छ । यसैगरी पर्वतको कुश्मामा विशाल जनप्रर्दशन भएको छ । उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य पदम गीरीले सम्बोधन गर्नुभएको छ । काठमाडौंका टोखा,काठमाडौं महानगर लगायतका सबै पालिकामा एमाले कार्यकर्ताले जनप्रदर्शन गरेका छन् ।
कर्णालीका केही पालिकाहरुमा हिमपातका कारण जनप्रदर्शन नभएपनि अधिकांसमा भएको छ । वीरेन्द्रनगरमा २९ गते जनप्रदर्शन गर्ने भएकोले आज नगरिएको,दुल्लुमा ३० गते हुने एमाले कर्णाली प्रदेशले जनाएको छ । यसैगरी जाजरकोटमा भएको जनप्रदर्शनलाई केन्द्रीय सदस्य निरज आचार्यले सम्बोधन गर्नुभएको छ । उहाँले खुजुरा व्यापारी जस्ता दलहरु हराउँदै जाने र एमाले नै जनताको आशा भएको बताउनुभयो । दैलेखमा संसद पुनस्र्थापनाको माग गर्दै विभिन्न नारा जुलुस सहित नारायणी नगरपालिकामा एमालेले जनप्रदर्शन गरिएको छ । यहाँका ११ वटा स्थानीय तहमा आज कार्यक्रम भएको छ । चामुणडा विन्द्रासैनी नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य विष्णु रिजालले जेन जीका माग सकारात्मक भए पनि आन्दोलनको स्वरुप विध्वंसकारी हुँदा नतिजा नकारात्मक भएको बताउनुभयो ।
मोरङको विराटनगर,धनकुटाको धनकुटा बजार लगायतका ठाउँहरुमा ब्यापक जनसहभागिता सहित जनप्रदर्शन भएका छन् ।
‘भदौ २४ पछि मुर्झाएको राजनीतिक वातावरण आजको जनप्रदर्शनले पुरानै अवस्थामा फर्किएको महसुष भएको छ ’ विराटनगरका एमाले कार्यकर्ता रविन मण्डलले भन्नुभयो ‘एमालेको बलमा अब अरु पाटीले पनि सडकमा आउनेछन् । सुस्ताएको राजनीतिक महोल अब पुरानै अवस्थामा फर्किएको छ । ’
तपाईको प्रतिक्रिया