पोखरा एक्सप्रेस ,काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट गरगहना लुटपाट गरेको आरोपमा पक्राउ गरेका दुई जना जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले आपराधिक उपद्रव र डाँका-चोरीको कसुरमा मुद्दा चलेका उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भई धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियारलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर दुवैले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ ।
घरबाट ६४ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना लुटिएको दाबी गर्दै कांग्रेस नेता कार्कीले प्रहरीमा जाहेरी दिएका थिए । उनको जाहेरीपछि जिल्ला प्रहरी परिसर ललितपुरले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध जिल्ला सरकारी वकील कार्यालय ललितपुरले मुद्दा दर्ता गरेको थियो ।
कार्कीका अनुसार ५ लाख नगद, १८ लाख मूल्य बराबरको हीराको २ थान गहना, १२ लाख बराबरको हीराको टप ७ थान, २५ लाख मूल्य बराबरको सुनको ४ सेट गहना, ३ लाख बराबरका मोतीको माला, १ लाख बराबरका थाँदीको थाल र किस्ती, चाँदीका कचौरी, चम्चा, चाँदीको गणेश भगवानको मूर्ति, कुबेरको मूर्ति, तामाको जग, गिलासलगायत गरी ६४ लाख ५३ हजार रुपैयाँ बराबरको गरगहना तथा सामान लुटिएको बताइएको छ ।
त्यसैगरी फर्निचर, कपडा, बा ९१ प ३९५९ नम्बरको यमाहा कम्पनीको मोटरसाइकल, पल्सर मोटरसाइकल, स्कुटर समेत गरी १० लाख बराबरको सामान जलाएर क्षति गरिएको भन्दै उजुरी परेको थियो । सामान र गरगहना गरी करिब साढे ७४ लाखको क्षति भएको दाबी गर्दै उजुरी परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।
तपाईको प्रतिक्रिया