ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज
- Pokhara Express
- २०८२ कातिर्क २ शनिवार

पोखरा एक्सप्रेस ,बागलुङ ।
यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झन्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।
दसैँमा खुल्नु पर्ने भए पनि लामो वर्षा हुँदा सडक थप बाढी पहिरोले अवरुद्ध भएका थिए । तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ । दसैँमा बोकेरै बजारदेखि सामान गाउँ पुर्याएका स्थानीयले सडक खुलेपछि गाडीमा ढुवानी गर्न थालेका छन् ।
असार दोस्रो सातादेखि बन्द भएका सडक खुलेपछि यात्रा गर्न र सामान ढुवानीमा सहज भएको निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारले बताए । गत साउनमा पहिरोले सडक पुरिएपछि गाउँलेले पैदल हिँड्न र बोकेर सामान ल्याउन बाध्य भएका थिए । सुनारले भने, “यो वर्ष गाउँको बाटो ठाउँ–ठाउँमा पहिरोले पुरियो, दसैँमा खुल्नु पर्ने खुलेन, अहिले तिहार सुरु नहुँदै खुल्यो, दसैँमा त बजारबाट नुन, तेल र चामल बोकेर ल्यायौँ, तिहारमा चाहीँ गाडीलेनै ल्याउने भयो ।”
जिल्लाको सबैभन्दा विकट गाउँ नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि सञ्चालनमा आएका छन् । तमानखोला गाउँपालिकाले केही दिन अगाडि मेसिन लगाएर सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएका हुन् । नर्जा खोलामा पानीको बहाव बढी हुँदा दसैँमा सवारीसाधन चल्न नसकेको स्थानीय बिमल छन्त्यालले बताए । अहिले खोलामा पानीको बहाव कम भएपछि गाडी चल्न थालेको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दसैँ अगावै सबै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकेकामा अहिले सबै सडक खुलाएको बताए । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि तमान, लम्मेला हुँदै म्याग्दी जोड्ने सडक भने खुङ्खानीखोलामा पानीको बहाव नघट्दा गाडी चल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । तर तमान लाम्मेलासम्म ढोरपाटनको खुङ्खा हुँदै सवारी साधन चल्ने अध्यक्ष बुढा मगरले बताए।
निसीखोला गाउँपालिकाले पनि वडा नम्बर १ देखि ७ सम्मका अधिकांश सडक खुलाएको गाउँपालिकाले जनाएको छ । केही सडक खुलाउने क्रममै रहेको हुँदा तिहारसम्म खुलाई सक्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया