नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
- Pokhara Express
- २०८२ कातिर्क १ शुक्रबार

पोखरा एक्सप्रेस ,काठमाडौ ।
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।
नेपालले अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै उपाधि जितेको हो।
नेपालले सुपर सिक्सका सबै खेल जितेर विश्वकपमा छनोट भएको छ।
३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ ।
शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो ।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।
लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए ।
सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १-१ विकेट लिए ।
नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।
पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।
त्यसपछि दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकालेपछि नेपाल विश्वकपमा छनोट हुने लगभग पक्का भइसकेको थियो । त्यसपछिको खेलमा अनुकुल नतिजा आएपछि नेपाल २ खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको थियो ।
तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो ।
छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।
तपाईको प्रतिक्रिया