पोखरा एक्सप्रेस ,पोखरा ।
कास्की प्रहरीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने र समाजमा अशान्ति फैलाउने मोटरसाइकल चालकहरूलाई नियन्त्रणमा लिन ‘अपरेशन ३६५’ सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २७ गते साँझदेखि यो अभियान थालेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र शान्ति सुव्यवस्थामा खलल पुर्याउने गतिविधि बढेको जनगुनासोका आधारमा यो अभियान चलाइएको हो। प्रहरीले विभिन्न मिति र समयमा यस्ता गतिविधि बढेको पाएपछि एक्सनमा उत्रिएको उनले बताए।
अपरेशन ३६५ अन्तर्गत कास्की प्रहरी र मातहतका एकाइहरूबाट एकै समयमा प्रहरी परिचालन गरी रातिको समयमा होहल्ला गर्दै हिँड्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने र शान्ति सुव्यवस्थामा खलल पार्ने चालकहरूलाई नियन्त्रणमा लिइरहेको छ। प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसँग झैझगडा गर्ने मोटरसाइकल चालक र सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ।
प्रहरी नायब उपरीक्षक बस्नेतले यो ‘अपरेशन ३६५’ निरन्तर रुपमा संचालन हुने जानकारी दिए। उनले सवारी साधन धनीहरूलाई आफ्नो सवारी साधन मोडिफाई नगरी पूर्ववत् असली स्वरूपमा चलाउन अनुरोध गरे। साथै, मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरूलाई समेत उक्त कार्य नगर्न नगराउन उनले आग्रह गरे।यदि कसैले सवारी साधन मोडिफाई गरी चलाएको पाइएमा सवारी साधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत उनले स्पष्ट पारे। यो अभियानले पोखराको शान्ति सुरक्षा कायम राख्न र ध्वनि प्रदूषण नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया