पोखरा एक्सप्रेस ,रसुवा ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्सामा शनिबार (आज) बेलुकी आएको बाढीले भक्तपुरका चार जना युवायुवतीलाई बगाएको छ।
भक्तपुरबाट १६ जनाको टोली लाङटाङ घुम्न गएकोमा असोज १७ गते शुक्रबार राति ब्याम्बोस्थित होटलमा बास बसेका उनीहरू आज लाङटाङतर्फ जाँदै गर्दा साँझ करिब ६ बजे खोल्साले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने २३ वर्षीय रवि श्रेष्ठ रहेका छन्।
घटनापछि पर्यटकसँगै आएका रोज कर्माचार्यले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी लाङटाङबाट प्रहरी निरीक्षक सुरथ गिरीको कमाण्डमा २ जना, नेपाली सेनाको लाङटाङ बेस क्याम्पबाट जमदार धिरबहादुर भुजेलको कमाण्डमा ६ जना, प्रहरी चौकी स्याफ्रुबेसीबाट प्रहरी निरीक्षक अनिलकुमार शाहको कमाण्डमा ४ जना र नेपाली सेनाको स्याफ्रुवेसी क्याम्पबाट सहायक सेनानी प्रेमसिंह धामीको कमाण्डमा १० जना गरी २२ जनाको संयुक्त टोली उद्धार कार्यका लागि खटिएको छ।
उक्त स्थान प्रहरी चौकी लाङटाङबाट करिब ६ घण्टा पैदल उत्तर र प्रहरी चौकी स्याफ्रुबेसीबाट करिब ६ घण्टा पैदल पूर्वतर्फ पर्ने भएकाले उद्धार टोली पैदलमार्ग हुँदै घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया