नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै
- Pokhara Express
- २०८२ असोज १४ मङ्गलबार

पोखरा एक्सप्रेस ,पोखरा ।
आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिन्छ, जसको आफ्नै विधि र महत्व रहेको छ।
महागौरी सेतो पहिरन र वृषमा सवार भएकी देवी हुन्, जसले भक्तजनका पाप नष्ट गर्छिन्।
उपत्यका र उपत्यकाबाहिरका शक्तिपीठहरूमा बलिसहित पूजा गरिन्छ, भने बलि नदिनेहरूले फलफूल चढाउँछन्।
नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ ।
सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । माताको स्वरूप गोरो वर्णको छ भने यीनका सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागौरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभास भएको थियो, त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेवलाई स्वामी पाउने विश्वाससहित कठोर तपस्या प्रारम्भ गरेकी थिइन् ।
बाल्यकालमा पार्वती हुँदादेखि नै शिवलाई पति पाउन कठोर तपस्या गरेकी महागौरीको प्रतिज्ञा थियो- ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छ’ यस कठोर तपस्याका कारण उनको शरीर अत्यन्त कालो भएको थियो । यिनको तपस्याले प्रसन्न भएका शिवजीले गंगाजलमा नुहाइदिएपछि उनी गोरी बनिन् र त्यसै कारण उनको नाम गौरी रहन गयो । यी देवीको शक्ति अमोघ र प्रत्यक्ष फल दिने मानिन्छ । यस भगवतीको आराधनाले भक्तजनहरूको सबै दोष नाश हुने तथा भविष्यमा पनि बाधा नआउने विश्वास गरिन्छ । मोक्ष प्राप्तिको चाहना गर्नेहरूले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी उच्च योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक पूजामा जल, चन्दन, अक्षत आदिसहित षोडशोपचारले पूजा गरिन्छ । सात्त्विक र राजसमा पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गर्ने र पशुबलि दिने परम्परा छ ।
उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ । उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नजस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा तथा आराधना गरिन्छ । पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाई पूजाआजा गर्ने गर्छन् ।
यस दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने परम्परा छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
तपाईको प्रतिक्रिया