मुस्ताङको कोरला नाका त्रिदेशीय व्यापार र पर्यटनको केन्द्र बनाउनुपर्छः अध्यक्ष ढकाल
- Pokhara Express
- २०८२ असोज ११ शनिवार

पोखरा एक्सप्रेस ,काठमाडौ ।
नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको कोरला नाका नेपाल–चीन–भारतबीच त्रिदेशीय व्यापार र पर्यटनको केन्द्र बन्न सक्ने प्रबल सम्भावना रहेको बताएका छन्।
गण्डकी प्रदेशको जोमसोममा स्थानीय उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि कोरला नाका सबैभन्दा छोटो अन्तर्राष्ट्रिय व्यापारिक मार्ग बन्ने उल्लेख गरे। उनले यस मार्गलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारलाई चाँडो पहल गर्न आग्रह गर्दै, निजी क्षेत्र यसमा आवश्यक सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए।
ढकालका अनुसार, कालीगण्डकी करिडोरले नेपालको हिमाली क्षेत्रलाई मात्र नभई भारत र चीनको बजारसँग प्रत्यक्ष पहुँच दिने भएकाले, व्यापार, लगानी र रोजगारी सृजना हुने ठूलो सम्भावना छ। उनले भने, ‘यो नाका केवल व्यापारका लागि मात्र नभई पर्यटन, स्थानीय उत्पादनको बजार विस्तार र समग्र अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण अवसर बन्न सक्छ।’
सो अवसरमा आयोजित भेलाले मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको छ। समितिको अध्यक्षमा राजुप्रसाद लालचल, सचिवमा तिलक विक, कोषाध्यक्षमा विष्णु शेरचन र सदस्यमा गणेश शेरचन, योगेश शेरचन, विनोद विसी र निशान तुलाचन चयन भएका छन्।
अध्यक्ष ढकालले नयाँ समितिलाई बधाई दिँदै स्थानिय उत्पादनलाई बजारसँग जोड्ने, कृषि–उद्योगलाई प्रोत्साहन गर्ने र पर्यटनसँग समन्वय गर्ने योजनाले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।
विशेषज्ञहरूको मूल्यांकनमा, कोरला नाका सञ्चालनले नेपालको वैदेशिक व्यापारमा वैकल्पिक मार्ग थप्ने मात्र नभई त्रिदेशीय सहकार्यलाई प्राविधिक तथा भौगोलिक आधार दिनेछ। यो परियोजना पूरा भए नेपालले पर्यटन प्रवाह, व्यापार घाटा न्यूनीकरण र पूर्वाधारमा लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया