पोखरा एक्सप्रेस ,पोखरा ।
नेपाल प्रहरीले पोखरामा एउटा नयाँ पेट्रोल पम्पको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको पहलमा निर्माण गरिएको यो पेट्रोल पम्प मंगलबारदेखि सर्वसाधारणका लागि खोलिएको हो।
अघिल्लो वर्षको असार २० गते पेट्रोल पम्प निर्माणका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार, निर्माण कम्पनी एनसी/अल्फा-हेक्स/तेजस्वी जेभीले एक वर्षभित्र पम्प तयार गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाका अनुसार, यो पम्प निर्माणका लागि रु. ९ करोड ९६ लाखको लागतमा सम्झौता भएको थियो।
प्रारम्भमा, यो पम्पको निर्माण कार्यको विरोध भएको थियो किनभने यो क्षेत्रमा उच्च सरकारी कार्यालय र मन्त्रालयहरू छन्। नागरिक अगुवाहरूले यसको विरोध गर्दै उच्च अदालतमा रिट समेत दायर गरेका थिए।
तर, दुवै पक्षसँगको छलफलपछि, गत पुसमा तत्कालीन मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको थियो।
तपाईको प्रतिक्रिया