रेडियो अन्नपूर्णद्वारा विन्ध्यवासिनी मन्दिरमा सरसफाइ
- Pokhara Express
- २०८२ असोज ७ मङ्गलबार

पोखरा एक्सप्रेस ,पोखरा ।
रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको आयोजनामा सोमबार पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।
रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रम अन्तर्गत असोज महिनाको लागि मन्दिर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए ।
सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखेले स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।
नेपालीहरूको महान चाड दशैँ सुरु भएको र सोमबारदेखि नै नवदुर्गा भवानीको पूजा गर्न सुरु गरिने भएकाले पनि विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको उनको भनाइ छ । झण्डै अढाई शताब्दी पुरानो यो मन्दिर पोखरेलीहरूको आस्थाको केन्द्रका रुपमा रहेकोले समेत सरसफाइका लागि उपयुक्त स्थानको रुपमा छनौट गरिएको उनले बताए । यसअघि पनि रेडियो अन्नपूर्णले विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्दै आएको थियो । अध्यक्ष पालिखेले रेडियोले नाफामुखि भन्दा समाजसेवाको भावनामा जोड दिएको उल्लेख गरे ।
रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेका अनुसार रेडियोले रजत वर्षको कार्यक्रम अन्तरगत यसअगाडि बुद्ध जयन्तीको अवसर पारेर पोखरा १४ बाच्छीबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो । त्यस्तै २१२ औं भानु जयन्तीको अवसरमा ‘सम्झनामा आदिकवि’ विशेष कविता वाचन लगायत प्रत्येक महिना कार्यक्रम गदै आइरहेको प्रबन्ध निर्देशक पालिखेले बताइन् । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण गरिएको उनले खुलाइन् । उनका अनुसार हरेक महिना केही न केही कार्यक्रम गर्ने योजना बनाएको रेडियोले बैशाखमा रजत वर्षको मुख्य कार्यक्रम आयोजना गर्नेछ ।
पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक बासुदेव कुवँरले सञ्चार माध्यमले सूचना र मनोरञ्जन सँगै सामाजिक क्षेत्रमा पनि कार्य गरेकोमा प्रशंसा गरे।
कार्यक्रममा रेडियोमा आबद्ध कर्मचारीहरू,पर्यटन प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक सविन रेग्मीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया