पोखरा एक्सप्रेस ,पोखरा ।
जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित हुन पुगेको पोखरेली पर्यटनलाई टिकाउने प्रयासस्वरुप पोखरेली पर्यटन व्यवसायीले आफ्नो पहल अगाडि बढाएका छन् ।यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई भेटी आफ्ना दुःखेसो सुनाएका थिए ।
अध्यक्ष सुवेदीका अनुसार गभर्नर पौडेलसँगको भेटका क्रममा मुख्य पर्यटन मौसमको मुखैमा आएर नेपाली पर्यटनले ठूलो बज्रपातको सामना गर्नुपरेको विषय व्यवसायीले स्मरण गराएका थिए । अहिलेको अवस्थामा पर्यटन क्षेत्र तत्काल रिभाइभ हुने अवस्थामा नभएकोले मौद्रिक नीति मार्फत् व्यवसायीका अफ्ठ्यारा र समस्या संवोधन गरिनुपर्ने सुझाव राखिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
यसैगरी भौतिक क्षति पुगेका पोखराका पर्यटकीय संरचनालाई राहत र क्षतिपूर्ति दिलाउनुपर्ने माग पनि व्यवसायी सो क्रममा राखेका थिए । अहिले तिर्नुपर्ने बैंक तथा वित्तिय संस्थाको किस्ताको समय कम्तिमा ६ महिना सारिदिनुपर्ने, ऋणको पूर्नतालिकिकरण गरिदिनुपर्ने र संचालन खर्चका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्नुपर्ने माग पनि व्यवसायीले राखेका थिए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँगको भेटमा व्यावसायीले पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न बजेटको व्यवस्था गर्नुपर्ने र देशविदेशमा प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने माग राखेको अध्यक्ष सुवेदीले सुनाए । पोखराका प्रमुख पर्यटकीय संघसंस्थाका अध्यक्ष र प्रतिनिधि सम्लित टोलीले अर्थमन्त्री रामेश्वर खनाललाई पनि भेट्ने कार्यक्रम रहेको छ । आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका कारण पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको आँकडा यसअघि हानले सार्वजनिक गरिसकेको छ । भएका बुकिंग पनि अधिकांश रद्द भएको व्यवसायीले बताएका छन् ।
तपाईको प्रतिक्रिया