गण्डकीका ७ जिल्लामा क्षति, सबैभन्दा बढी कास्कीमा
- Pokhara Express
- २०८२ असोज २ बिहीबार

पोखरा एक्सप्रेस ,पोखरा/पोखरा जेन जीको आन्दोलनका क्रममा गण्डकी प्रदेशका सात जिल्लामा भएको घटनामा ३ जनाको मृत्यु भएको छ । यसैगरी प्रहरी र अन्य सर्वसाधारण गरी ६९ जना घाइते भएका छन् ।
आन्दोलनका क्रममा ३२ प्रहरी कार्यालय (३ आइलेनसहित), एकसय २१ वटा सरकारी कार्यालय, ६० निजी र व्यापारिक भवन, ३२ पार्टी कार्यालयमा क्षती पुगेको छ । यसैगरी २ सय ७७ सरकारी सवारी साधन पनि ध्वस्त भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रदेशका कास्की, नवलपुर, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङजामा भएको आन्दोलन र प्रदर्शनका क्रममा मानवीयसंगै ठूलो भौतिक क्षति पनि हुन पुगेको हो । आन्दोलनका कारण सबैभन्दा बढी कास्की प्रभावित भएको छ भने त्यसपछि नवलपुरमा क्षति पुगेको छ । मुस्ताङ, मनाङ, लमजुङ र गोरखामा भने आन्दोलनको प्रभाव नपर्दा कुनै पनि क्षति हुन नपाएको कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
भदौ २४ मा भएको आगजनीमा परेर कास्कीमा मात्र ३ जनाले ज्यान गुमाए । उनीहरु तीनैजना प्रदर्शनकारीले गरेको आगजनीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्की, पोखराको नयाँबजार र लेकसाइडमा रहेका व्यापारिक भवनमा भएको आगजनीबाट उनीहरुको ज्यान गएको हो । जिल्ला प्रहरीमा लगाएको आगजनीबाट गम्भिर घाइते चितवन घर भई पोखरा बस्दै आएका ४२ वर्षीय विजय लामा, लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा दोलखा वैतेश्वर गाउँपालिका–८ की २६ वर्षीया स्वस्थानी खड्का र नयाँबजारस्ति एउटा अटो सोरुममा कार्यरत सिन्धुपाल्चोककी ३५ वर्षीया सञ्जु नगरकोटीको ज्यान गएको हो । ‘तीनैजनाको मृत्यु प्रदर्शनकारीको आगजनीका कारण भएको हो’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले भने, ‘प्रहरी प्रशासनको बल प्रयोगबाट कसैको मृत्यु भएको छैन् ।’
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको जेन जी आन्दोलनका क्रममा भएको प्रारम्भिक क्षतिको विवरण अनुसार कास्कीमा प्रहरी कार्यालयतर्फ २ पूर्ण र २४ वटामा आंशिक क्षती पुगेको छ । यसैगरी ८२ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यसमा एकाध बाहेक अधिकांशको आंशिक क्षति छ । यसैगरी व्यापारिक÷निजी भवनतर्फ ७ पूर्ण र २२ वटामा आंशिक क्षति, ३ वटा पार्टी कार्यालयमा आंशिक क्षति पुगेको छ ।
यसैगरी ३५ जना प्रहरी र सर्वसाधारण÷प्रदर्शनकारीतर्फ २३ जना घाइते भएका छन । ५ सय ६१ कैदी फरार भएकोमा २ सय ४५ जना पक्राउ परेका छन् । २ सय १० थुनुवा फरार भएकोमा ४९ जना पक्राउ परेका छन् । वाल सुधार गृह सराङकोटबाट १०६ जना (बालविज्याइँकर्ता ८० र कानूनी विवादमा परेका २६) फरार रहेकोमा वालविज्याइँकर्ता २४ र कानुनी विवादमा परेका बालक (पुर्पक्ष) १० जना पक्राउ परेका छन् । १९७ वटा सरकारी सवारी साधन पूर्ण र ३ वटामा आंशिक क्षति पुगेको छ ।
यसैगरी नवलपुरका ५ वटा प्रहरी कार्यालय र १० वटा सरकारी कार्यालयमा आंशिक क्षती पुगेको छ । व्यापारिक÷निजी भवनतर्फ ५ पूर्ण र १६ वटामा आंशिक क्षति, १३ वटा पार्टी कार्यालयमा आंशिक क्षति पुगेको छ । ३ प्रहरी र एकजना सर्वसाधारण घाईते हुन पुगे भने सरकारी सवारी साधनतर्फ ११ वटा पूर्ण र ३ वटा आंशिक क्षति भएका छन् । तनहुँमा ६ सरकारी कार्यालय पूर्ण र १७ वटामा आंशिक क्षति, ७ वटा व्यापारिक÷निजी भवन, ३ वटा पार्टी कार्यालयमा आंशिक क्षति पुगेको छ । ६ प्रहरी घाइते भए । एकसय ९२ कैदी फरार भएकोमा एकसय ४ जना र एकसय ३५ थुनुवा फरारमध्ये ४८ जना पक्राउ परेका छन् । ४९ वटा सरकारी सवारी साधन पूर्णरुपमा क्षति भएका छन् भने १४ वटामा आंशिक क्षति पुगेको छ ।
स्याङ्जाका २ सरकारी कार्यालय र २ पार्टी कार्यालयमा आंशिक क्षति पुगेको छ । बागलुङमा २ सरकारी कार्यालय, २ पार्टी कार्यालय आंशिक क्षति पुगेको र एक प्रहरी घाइते भए । पर्वतमा एक प्रहरी कार्यालय, २ सरकारी कार्यालय, ३ निजी भवनमा आंशिक, ३ पार्टी कार्यालय पूर्ण क्षति भएका छन् । ६ कैदी फरार भएकोमा एक जना, १३ थुनुवा फरारमध्ये ७ जना पक्राउ परेका छन् । म्याग्दीका ६ वटा पार्टी कार्यालयमा आंशिक क्षति पुगेको, ५७ कैदी फरार भएकोमा ४७ पक्राउ परेका, १८ थुनुवा फरार भएकोमा १५ जना पक्राउ परेका छन् ।
प्रहरीतर्फ ४५ जना घाइते हुन पुगे । प्रहरीका १४ वटा दुईपांग्रे र ८ वटा चारपांग्रे सवारी साधन ध्वस्त भए । प्रहरीकै व्यक्तिगततफर्प ३४ मोटरसाइकल र स्कुटर क्षति भए । ३ सय २५ जना प्रहरीको लत्ताकपडा नष्ट भएको कार्यालयले जनाएको छ । क्षतिको यो विवरण प्रारम्भिक रहेको प्रहरीले जनाएको छ । ‘अहिले पनि क्षतिको विवरण संकलन भइरहेको छ, यो विवरण प्रारम्भिक हो’, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक कार्कीले भने । ठूलो परिमाणका कम्युटर, फर्निचर, उपकरण पनि ध्वस्त पारिएका छन् । यसको कुनै लेखाजोखा नै छैन ।
भदौ २३ गतेबाट पछिल्लो जेनजी पुस्ताले आन्दोलनको सुरुवात् गरेको थियो । पहिलो दिन नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निशानामा परेको थियो । उक्त कार्यालय र केही मन्त्रालयका गाडी प्रदेश प्रहरी कार्यालयमा लगेर राखिएकाले जोगिन पुगे । भदौ २४ गते भने प्रदर्शनकारीले विध्वंस नै मच्चाए । त्यसैको कारण गण्डकी प्रदेशका यी जिल्लामा पनि जनधनको क्षति हुन पुग्यो ।
भदौ २३ गते १९ जनाको मृत्यु भएपछि भोलिपल्टको आन्दोलनमा अराजक युवाहरूको समूहले ध्वंस मच्चाए । मुख्यमन्त्री पाण्डेसहित अधिकांश मन्त्रीका आवास, सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीको घर, मन्त्री विन्दुकुमार थापा, प्रकाशबहादुर केसीको घरदेखि विभिन्न व्यवसायसम्म आगजनी भएको छ ।
जेनजी आन्दोलनको नाममा ध्वस्त भएका संरचनाहरुको कर्मचारी आफै सरसफाइमा जुटेका छन् । खरानी पन्छाउँदै कम क्षति भएका कार्यालयहरूमा सेवा दिन मिल्ने गरी सरसफाइ गरिएको हो ।
प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदीको भदौ १८ मा अवकाश भएपछि बैठक तथा प्रशासन महाशाखा प्रमुख रमेश ढकाल निमित्त छन् । उनैले सचिवस्तरीय बैठकबाट कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा स्वीकृत नगर्ने र काजमा सरुवासमेत नगर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई बढी भन्दा बढी सेवा दिने कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउने जनाएका छन् । त्यसपछि अन्य क्षतीग्रस्त कार्यालयहरुको पुनर्संरचना गर्दै जाने उनको भनाई छ । पाण्डेले आन्दोलनको आव्हान गर्ने जेन जी पुस्ताबाट यस्तो विध्वंस नभएको बताए । ‘जनताको सेवा प्रवाह बढी हुने कार्यालय तत्काल सञ्चालन गरी सेवालाई सहजरुपमा अघि बढाउदै लैजान्छौ’, उनले भने, ‘सुरक्षा निकायका कार्यालयलाई प्राथमिकतामा छन् । त्यसपछि अन्य सेवा प्रवाह गर्ने कार्यालयलाई मर्मत संभार गरी अघि बढ्छौ ।’
आगजनी र तोडफोडलाई आन्दोलनको मौका छोपेर बस्ने विध्वंसकारीहरुले समयको फाइदा लिएको, आन्दोलनको नाममा घुसपैठ गरेर सम्पत्ती जलाउने नष्ट गरिएको उनले बताए । सार्वजनिक सम्पत्ती नोक्सान गर्ने कुरालाई आन्दोलन भन्न नसकिने उनको भनाई थियो । मुख्यमन्त्री पाण्डेले प्रदेशको बजेटमा तत्काललाई ठूलो हेरफेर नहुने बताए । ‘बजेट परिमार्जन र पुर्नलेखन भन्दा पनि स्लाइडली जान्छौ,’ उनले भने, ‘संघले प्रदेशलाई दिने विभिन्न अनुदान रकम तलमाथि भएमा भने बजेटमा पुनर्बिचार गर्नुपर्ने हुन्छ । किनकी यत्रो संरचना त बनाउन पर्यो नी ।’
गण्डकी प्रदेश सरकार प्रवक्ता एवं अर्थमन्त्री डा.टकराज गुरुङले अहिले भौतिक संरचना, सवारी साधनमा भएको क्षतिको विवरण संकलन भइरहेको र पुनर्निर्माण वा मर्मतसंभार के गर्ने भन्ने टुंगो लगाइने बताए ।( स्रोत : ढोरपाटन न्युज डट कम )
तपाईको प्रतिक्रिया