पोखरा एक्सप्रेस ,पोखरा।
देशमा सिर्जना भएको विषम राजनीतिक परिस्थितिप्रति गहिरो संवेदना प्रकट गर्दै पोखरा–५ मालेपाटनस्थित हिलसाइड इङ्ग्लिस स्कुलले सोमबार एक समारोहबिच विशेष शोकसभा तथा दीपप्रज्ज्वल कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय तहका विद्यार्थीहरूले प्राचार्य डिल्लीराम भट्टराईका साथमा दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
सो अवसरमा प्राचार्य डिल्लीराम भट्टराईले विद्यार्थीहरूलाई सम्बोधन गर्दै देश आज एक गम्भीर राजनीतिक सङ्कटको घेराभित्र रहेको तर यिनै चुनौतीहरूले हामीलाई एकताबद्ध भएर अघि बढ्न सिकाउने कुरा व्यक्त गरे। उनले विद्यार्थीहरूलाई आजैदेखि सचेत, जिम्मेवार र राष्ट्रप्रेमी बनाउन सके मात्र भोलिको नेपाल उज्यालो हुन्छ भन्दै दीप प्रज्ज्वलनले हामीलाई अन्धकार पन्छाएर उज्यालोतर्फ अघि बढ्ने मार्ग देखाउने विषय प्रस्ट पारेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। साथै उनीहरूले भोलिको विकसित, समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा आआफ्नो ठाउँबाट योगदान दिने प्रतिबद्धता एक मिनेट मौनधारण गर्दै व्यक्त गरे।
कार्यक्रममा विद्यालयका सूचना अधिकारी होमनाथ भट्टराईले हाल देशभरि फैलिएको राजनीतिक अस्थिरता, आन्दोलन र त्यसले मुलुकको विकासमा पारेको असरबारे विस्तृत जानकारी दिएका थिए । साथै उनले विद्यार्थीलाई राजनीतिक चेतना, आन्दोलनको इतिहास र वर्तमान परिस्थितिबारे जानकारी लिन आग्रह गर्दै जिम्मेवार नागरिक बन्न प्रेरित गरे।
कार्यक्रमको संयोजन अङ्ग्रेजी शिक्षिका अनिता गुरुङले गरेकी थिइन् भने सञचालन सहकार्यकलाप प्रमुख मीनप्रसाद सुवेदीले गरेका थिए। साथै विद्यालयले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीलाई केवल शिक्षामा मात्र होइन, समाज र राष्ट्रप्रति जिम्मेवार बनाउने विश्वास लिएको जनाएको छ।
तपाईको प्रतिक्रिया