क्याम्पमा प्रशिक्षक अमृत पुन, प्रतीक्षा मल्ल ठकुरी, सोनिका कँडेल, प्रतीक्षा खनाल लगायतका स्काउट प्रशिक्षकहरूले विविध सत्र सञ्चालन गरे। सहभागीहरूले स्काउटको इतिहास, ध्येय, नियम र प्रतिज्ञाबारे जानकारी प्राप्त गर्नुका साथै समूहगत नेतृत्व, समय व्यवस्थापन, आपतकालीन अवस्थामा उपयोग हुने सीप, प्राथमिक उपचार, वातावरण संरक्षण, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व जस्ता जीवनोपयोगी विषयहरू सिक्ने अवसर पाए।
स्काउट अभियानले ‘कर्तव्य, अनुशासन र सेवा’लाई मुख्य सन्देशका रूपमा लिएको छ। यस क्याम्पमार्फत विद्यार्थीहरूमा ‘सदा तयार रहनु’ भन्ने मूल मन्त्र आत्मसात् गर्ने वातावरण बनेको थियो। सहभागीहरूले व्यावहारिक गतिविधिमार्फत एकअर्कासँग सहयोग गर्ने, कठिनाइमा धैर्य गर्ने र समाजमा सकारात्मक योगदान दिने भावनालाई बलियो बनाएको जनाएका छन्।
दुई दिनसम्म चलेको कार्यक्रममा सहभागीहरूले विभिन्न सामूहिक अभ्यास, गीत-सङ्गीत, समूह खेल र छलफलजस्ता गतिविधिमा संलग्न भए। कार्यक्रमपछि सहभागीहरूले यस्ता क्याम्पहरूले विद्यार्थीलाई पुस्तकबाहिरको शिक्षासँगै व्यवहारिक जीवन सिप सिकाउने भएकाले निरन्तर आयोजना गर्नुपर्ने कुरा बताए।
कार्यक्रमका वक्ताहरूले स्काउट शिविर तथा क्याम्पले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा ठूलो टेवा पुर्याउँछ भन्दै यसलाई अझ व्यवस्थित र नियमित बनाउनुपर्नेमा जोड दिए। यसै अवसरमा ११ जना विद्यार्थीहरूलाई दीक्षान्त गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र र विभिन्न गतिविधिमा उत्कृष्ट भएकाहरूलाई मेडल पनि प्रदान गरिएको थियो।
तपाईको प्रतिक्रिया