राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कास्कीको स्वीकृत कार्यक्रम सार्वजनिक
- Pokhara Express
- २०८२ श्रावाण ३१ शुक्रबार

पोखरा एक्सप्रेस ,पोखरा ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई कास्कीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक तथा आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो।उद्घाटन गर्दै प्रमुख पौडेलले उत्पादनमुखी, व्यावसायिक तथा आधुनिकीकरण कृषि प्रणालीको विकासमा ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो। साथै, उहाँले वास्तविक किसानले राहत पाउने गरी कार्यक्रम कार्यान्वयन गर्न जोड दिनुभयो। उहाँले कास्कीलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो।
पौडेलले व्यावसायिक युवा सहित कृषकहरूको संरक्षण दिगोपनाका लागि युवा–केन्द्रित कृषि नीतिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। सरकारको लक्ष्य पूरा गर्न सबै पक्षबीचको सहकार्य र समन्वय थप घनिभूत हुनुपर्ने उहाँको भनाइ थियो।बिषादी सचेतना कार्यक्रमलाई व्यापक बनाउन र प्राङ्गारिक कृषि प्रविधिको प्रवर्द्धनमा ध्यान दिनुपर्ने पौडेलले बताउनुभयो।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगत वर्षमा देखिएका कठिनाइ र समस्या समाधान गर्दै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। शर्माले कृषि क्षेत्रमा लागेका युबाहरूको निरन्तरता का लागि मनोबल उच्च बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
सो अवसरमा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम , तरकारी सुपरजोनका संयोजक कृष्णप्रसाद सुवेदी, जिल्ला वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्ले, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल तथा संचारकर्मीहरू रामचन्द्र बराल र कमल पौडेल अथक लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कास्कीका कार्यालय प्रमुख माधव लम्सालले आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै कार्यान्वयनका रणनीतिबारे प्रकाश पार्नुभएको थियो। साथै, आर्थिक वर्ष २०८१/८२ का कार्यक्रम तथा योजनाहरूको समीक्षा समेत गरिएको थियो।
नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम संशोधन गर्दै चालू आर्थिक वर्षदेखि यसलाई “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम” नामकरण गरेको हो।कार्यक्रममा कास्कीस्थित सरोकारवाला कार्यालयका प्रमुखहरू, कृषक प्रतिनिधिहरू र संचारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रमका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।(यस्तो छ स्वीकृत कार्यक्रम )

तपाईको प्रतिक्रिया