पोखरामा फेसनको रौनक: “पोखरा डिजाईनर्स फेसन वीक-२०२५” आयोजना हुँदै
- Pokhara Express
- २०८२ श्रावाण २८ मङ्गलबार

२७ साउन ,पोखरा ।
पोखराको फेसन जगतमा थप नायक रौनकता ल्याउने उद्देश्यका साथ बुटिक एसोसियसन नेपाल पोखराले यही साउन ३० गते शुक्रबार “पोखरा डिजाईनर्स फेसन वीक-२०२५” को आयोजना गर्ने भएको छ। मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।कार्यक्रमको मुख्य उद्देश्य फेसन क्षेत्रको विकासमा टेवा पुर्याउनु, डिजाइनर, मोडल तथा कारीगरहरूको प्रतिभालाई उजागर गर्नु र पोखरालाई फेसनको केन्द्रको रूपमा स्थापित गर्नु रहेको सचीव कमला गुरुङले जानकारी दिइन ।
यस फेसन वीकमा पोखराका १४ जना व्यवसायीक डिजाइनरहरूले तयार पारेका आकर्षक पहिरनहरूमा देशभरबाट छानिएका मोडलहरू र्याम्पमा प्रस्तुत हुनेछन्। सहभागी डिजाइनरहरूमा सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, इन्दिरा लामिछाने, स्वेता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीष मगर, रेनु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङ रहेका छन्।
कार्यक्रमलाई थप आकर्षक बनाउन चर्चित अनुहारहरू शो-स्टपरको रूपमा देखिनेछन्। जसमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, अन्जना बराइली, सनीषा भट्टराई, अभिनेता प्रिन्स सिंह, मोडेल कृशल श्रेष्ठ, पूर्व मिस नेपाल इन्टरनेसनल २०१२ सुवेक्षा खड्का, मिस नेपाल २०१९ मीरा कक्षपति र मिसेज दार्जिलिङ २०२३ प्रेरणा लामा रहेका छन्। फेसन सोमा काठमाडौ र पोखराका २७ जना व्यवसायीक मोडल सहित
अमेरीका बाट आएका दुई मोडलले पनि सहभागिता जनाउने छन् । २५ लाख खर्च अनुमान गरिएको कार्यक्रममा एसियन इन्टरप्राइजेज काठमाडौ प्रमुख प्रायोजक रहेको छ ।
बुटिक एसोसियसनकी अध्यक्ष इन्दिरा लामिछानेले यो फेसन वीक परम्परागत र आधुनिक डिजाइनको अनुपम संगम हुने बताइन्। उनले भनिन्, “यसले पोखराको फेसनलाई विश्वव्यापी बनाउने लक्ष्य राखेको छ। फेसन वीकले परम्परा र आधुनिकताको मेलमिलाप मात्र होइन, नयाँ रचनात्मकता र व्यावसायिक अवसरहरू सिर्जना गर्ने अवसर पनि प्रदान गर्नेछ।” उनका अनुसार, यो कार्यक्रमले डिजाइनर, मोडल र कारीगरहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने एउटा महत्वपूर्ण मञ्च उपलब्ध गराउनेछ, जसले पोखराको फेसन उद्योगलाई अझ समृद्ध बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
त्यसैगरी, संस्थाकी प्रथम अध्यक्ष सुस्मा पाण्डेले फेसन वीकले डिजाइनरहरूलाई आफ्ना सिर्जनाहरू प्रदर्शन गर्ने मात्र नभई, गण्डकी प्रदेशको समृद्ध सांस्कृतिक पहिचान र सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पुलको रूपमा काम गर्ने बताइन्। “यसले गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भनिन् ।
वि.सं. २०७४ सालमा स्थापना भएको बुटिक एसोसियसनले स्थापनाकालदेखि नै मोडल, डिजाइनर, दर्जी र कारीगरहरूलाई रोजगार र तालिम प्रदान गर्दै आएको निर्वतमान अध्यक्ष शान्ति श्रीसले जानकारी दिइन । कोभिड-१९ महामारीको कठिन समयमा पनि संस्थाले आर्थिक संकट झेलिरहेका व्यवसायीहरूलाई सहयोग पुर्याएको आएको उनको भनाइ थियो । कार्यक्रम हाल संस्थामा ३० भन्दा बढी आजीवन सदस्य र ३५ भन्दा बढी साधारण सदस्यहरू आबद्ध सस्थाका उपाध्यक्ष स्वेता भट्टराई लम्सालले जानकारी दिइन ।
इभेन्ट निर्देशक अमित बरालले यस कार्यक्रमलाई ‘बेन्चमार्क’का रूपमा स्थापीत गरेर आगामी वर्षहरूमा यसलाई निरन्तरता दिने बताए ।
तपाईको प्रतिक्रिया