गण्डकी प्रदेशमा २८ प्रतिशत सेवाग्राही परिवार नियोजन सेवाबाट वञ्चित
- Pokhara Express
- २०८२ श्रावाण १२ आइतबार
रामजी प्रसाद लम्साल, पोखरा एक्सप्रेस, पोखरा।
गण्डकी प्रदेशमा २८ प्रतिशत सेवाग्राही परिवार नियोजन सेवाबाट वञ्चित रहेको पाइएको छ। नेपाल परिवार नियोजन संघद्वारा पोखरामा आयोजित परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उक्त जानकारी दिइएको हो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै परिवार नियोजन संघका अनुगमन तथा मूल्यांकन विभाग प्रमुख चेतराज जोशीले परिवार नियोजनलाई परिवार व्यवस्थापनको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे। साथै, उक्त क्षेत्रमा प्रदेशका विभिन्न तहका सरकारहरूद्वारा विनियोजित बजेट अत्यन्त न्यून भएको पाइएकाले बजेट व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले ‘प्रदेशको पारिवारिक स्वास्थ्य तथा जनसंख्याको अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गरे। उनले परिवार नियोजनका कार्यक्रमहरू अब जनसंख्या व्यवस्थापनमा समेत केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिए।
गर्भावस्थामा लिङ्ग पहिचान गरेर गरिने गर्भपतनको दर दिनानुदिन बढिरहेको उल्लेख गर्दै उनले सो नियन्त्रणका लागि प्रभावकारी नीति तथा कार्यक्रमहरू लागू गर्नुपर्नेमा बल दिए। उनले गर्भवती आमालाई बचाउने उद्देश्यले ल्याइएको गर्भपतनसम्बन्धी कानुनी व्यवस्था सही र उचित तरिकाले प्रयोग नभएको र यसले चिन्ताजनक अवस्था निम्त्याएको भन्दै कडा नियमनका लागि सरोकारवाला निकायहरूलाई सहयोग गर्न आग्रह गरे।
उनले गण्डकी प्रदेशमा परिवार नियोजनका साधनहरूको प्रयोग र बच्चा जन्माउने दर अन्य प्रदेशहरूको तुलनामा कम रहेको बताए। साथै, प्रदेशमा ९ देखि १४ प्रतिशत बालबालिका उमेरमै विवाह गर्ने दर रहेको जानकारी दिए।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गरेका थिए। मन्त्री पाठकले परिवार व्यवस्थापनसहित जनसंख्याको सन्तुलनलाई प्रदेश सरकारले महत्वपूर्ण विषयको रूपमा लिएको उल्लेख गर्दै भावी कार्यक्रमहरू समेत प्रभावकारी रूपमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरू, पालिकाका प्रमुख तथा विभागीय प्रमुखहरू, राजनीतिक दलका जिल्ला प्रमुख एवं प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक नवराज तिवारीले गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया