पोखरा एक्सप्रेस ,पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्नुहुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।शोक सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।
‘करिब ३२ महिना गण्डकी प्रदेशबासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी वहन गर्नुभएका कुशल एवं अनुभवी व्यक्तित्व गुरूङको निधनबाट ठूलो क्षति पुगेको मैले महसुस गरेको छु ।’ उहाँले भन्नुभएको छ ।
शोक सन्देशमा उल्लेख छ – ‘आफ्ना सबल अभिभावक गुमाएका स्वर्गीय गुरूङका शोक सन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरूप्रति समग्र गण्डकी प्रदेशबासी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’
गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं. ४ मा जन्मनुभएका गुरूङका परिवार बसाइँसराइँ गरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नंं. २६, दिव्यनगरमा बस्दै आउनुभएको थियो । पछिल्लो समय क्यान्सरसँग लडिरहनुभएका पूर्व प्रमुख गुरूङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमै शनिबार बिहान निधन भएको हो । उहाँको आइतबार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।
२०७८ साउन १२ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएका गुरूङ २०८० फागुन २८ गते पदमुक्त हुनुभएको थियो ।
तपाईको प्रतिक्रिया