धौलागिरीमा नर्सिङ र आँपपिपलमा एचए पढाउने सरकारको निर्णय
- Pokhara Express
- २०८२ असार १६ सोमबार
१६ असार ,पोखरा ।
पोखरा । गण्डकी प्रदेश सरकारले स्थानीय सरकारबाट आफू मातहत ल्याएको २ अस्पतालमा प्राविधिक विषय पढाउने भएको छ । गोरखाको आँपपिपलमा एचए र ल्याब टेक्निसियन तथा बागलुङको धौलागिरीमा नर्सिङ विषय पढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सोमबार बसेको बैठकले दुवैतिर ३०–३० सीटमा प्राविधिक विषय पढाउने निर्णय गरेको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।
‘अस्पतालको स्तरोन्नतिपछि प्राविधिक शिक्षा पढाउने भनेका थियौँ । मन्त्रिपरिषद् बैठकले निर्णय नै गरिसकेको छ,’ उनले भने, ‘अब सस्तोमा उत्कृष्ट पढाइ हुन्छ । विद्यार्थीले लाभ पाउँछन् ।’ यसका लागि सिटिइभिटिसँग सहकार्य गर्ने उनले बताए । प्रदेश सरकारले दुई ठाउँमा प्राविधिक विषय पढाउनका लागि १ करोड २० लाख विनियोजन गरेको छ । सिटिइभिटिले पनि थप १ करोड विनियोजन गरेको पाठकले जानकारी दिए ।
‘अस्पताल आफ्नै छ । सिटिइभीटीसँग भौतिक पूर्वाधार छ । उपकरण र जनशक्तिमा पनि खासै खर्च छैन,’ उनले अघि भने, ‘सञ्चालनको लागि सामान्य खर्च लाग्छ । विद्यार्थीले पनि प्राइभेटमा भन्दा दुई तिहाइ सस्तोमा पढ्न पाउँछन् । अन्त ३ लाख लाग्ने रहेछ भने यहाँ १ लाखमै पढ्न पाइन्छ ।’ यो निर्णयले प्रदेशभित्रै दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने र महँगो शुल्कका कारण पढाइबाट वञ्चित भएका विद्यार्थीलाई अवसर मिल्ने सरकारले जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै स्वास्थ्य मन्त्रालय तत्काल कार्यान्वयनमा जुटेको छ । एसईईको नतिजा भर्खरै सार्वजनिक भएकाले केही दिनभित्रै विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । दोस्रो वर्षदेखि भने प्रदेश सरकारको भूमिका रहनेछ । धौलागिरि अस्पतालमा सुरु हुन लागेको तीन वर्षे नर्सिङ कार्यक्रम ‘मिडवाइफरी’ (गर्भवती, सुत्केरी र शिशु स्याहार) मा केन्द्रित हुनेछ । मन्त्री पाठकका अनुसार नवलपुरको मध्यबिन्दु अस्पताल, स्याङ्जा अस्पताल र लमजुङ अस्पतालमा पनि यस्तै प्रकारका अन्य शैक्षिक कार्यक्रमहरू विस्तार गर्ने योजना छ ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकता दिएको छ । यसअघि जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले यहाँका ९ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । २ वटा आयुर्वेद अस्पतालसहित ४ अस्पतालहरूको स्तरोन्नति त्यसअघि नै गरिएको छ । मन्त्रिपरिषद् निर्णयले २ सय २० शय्यालाई बढाएर ६ सय ५० शय्या पुर्याएको छ । कर्मचारी पनि ३ सय २५ बाट बढेर ८ सय २७ पुगेको छ । यी अस्पतालमा हाल करारमा कार्यरत कर्मचारीहरूको तलब सुविधा आन्तरिक स्रोतबाट भइरहेकोमा स्तरोन्नतिपछि सरकारले नै सबै व्यहोर्ने छ ।
५० शय्या रहेको धौलागिरि अस्पताल र हाल १५ शय्या रहेको मध्यविन्दु अस्पताल १ सय शय्यामा विस्तार भएका छन् भने २५ शय्यामा रहेका सरुवा रोग अस्पताल कास्की र मातृशिशु अस्पताल ५० शय्यामा स्तरोन्नति भएका छन् ।
१५ शय्याका दमौली अस्पताल, स्याङ्जा अस्पताल, पर्वत अस्पताल, आँपपिपल अस्पताल र बुर्तिवाङ अस्पताल ५० शय्यामा विस्तार गरिएको छ भने मनाङ र मुस्ताङ अस्पताल २५ शय्याको भएको छ ।
धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गरिएको छ । स्तरोन्नतिसँगै गण्डकी प्रदेश मातहत रहेका अस्पतालहरूको वार्षिक आम्दानी ६७ करोडबाट बढेर तेब्बर पुग्ने प्रक्षेपण गरिएको छ ।
तपाईको प्रतिक्रिया