नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखरा महानगरको अध्यक्षमा हेमराज भण्डारी
- Pokhara Express
- २०८२ असार १० मङ्गलबार

१० असार ,पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखरा महानगर समितिको दोस्रो अधिवेशनले हेमराज भण्डारीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा टिकाराम सापकोटा र तुल बहादुर थापा चयन भएका हुन् । त्यसैगरी सचिवमा किशोर अधिकारी र कोषाध्यक्षमा सांग्रीला केसी मरासिनी चयन भएका छन् ।
समितिको सदस्यमा महेन्द्र राज दाहाल, कृष्ण सुवेदी, प्रविण रानाभाट, उमापति ढकाल, सम्राट पौडेल, इन्द्रमान चौहान, ध्रुव बहादुर थापा, भेषराज पोखेल, बालकृष्ण भण्डारी, टंक प्रसाद पौडेल, एक नारायण पनेरु, सागर मणि न्यौपाने, प्रकाश कुमार आचार्य, माधव प्रसाद बराल र लोकेन्द्र राई रहेका छन् ।
नयाँ कार्यसमितिले संस्थाको उद्देश्यअनुसार प्रभावकारी कार्ययोजना बनाउँदै पारदर्शिता, जवाफदेहिता र समावेशीतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
अधिवेशनको उद्घाटन सत्र हरि भुजेलको अध्यक्षता र नेकपा (एमाले) केन्द्रीय सदस्य तथा महासंघ इन्चार्ज, पूर्वप्रदेश मन्त्री एवम् युवा नेता रचना खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि रचना खड्काले जनवर्गिय संगठनहरुको महत्वलाई प्रष्ट पार्दै समग्र व्यवसायिक क्षेत्रको विकास र सरकारी नीतिबीच एकरूपता हुनुपर्नेमा जोड दिइन । व्यवसायीहरूको हकहितका लागि नीतिगत सुधार आवश्यक रहेको बताउदै उनले व्यवसायीहरूको समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् ।
अधिवेशनमा महासंघका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज संजीव ब. कोईराला, आनन्द बराल, चिरञ्जीवी पोखरेल, उद्योग वाणिज्य विभाग प्रमुख मोती प्रसाद पौडेल, र महासंघका प्रदेश अध्यक्ष बबरजंग गुरुङले महासंघको उद्देश्य, महत्त्व, र व्यवसायिक क्षेत्रमा यसको भूमिकाबारे प्रकाश पारेका थिए। त्यस्तै, जिल्ला उपाध्यक्षहरू भेषराज बराल र जीवन आचार्यले महासंघ र नेकपा (एमाले) बीचको सम्बन्ध र सहकार्यबारे चर्चा गरे ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष हेमराज भण्डारीले आफ्नो मन्तव्यमा सबै क्षेत्र र विचारका व्यवसायीहरूको सुझावलाई समेटेर महानगर कमिटीले व्यवसायिक हकहितका लागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा फरक र प्रभावकारी ढंगले महासंघलाई अगाडि बढाउने योजना रहेको बताए।
तपाईको प्रतिक्रिया