पोखरा, २७ चैत
नेपालको राजधानी बाहिर पहिलो पटक पोखरामा (International Baccalaureate) आई.बी. वर्ल्ड स्कुलको मान्यता प्राप्त गर्दै फिस्टेल एकेडेमीले ऐतिहासिक सफलता हात पारेको छ। पोखरा–१७, तल्लो बिरौटास्थित फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको आई. बी. वर्ल्ड स्कुलको मान्यता पाएसँगै पोखरालाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण कदम चालेको विद्यालयले जनाएको छ।
आईबी सङगठनबाट औपचारिक मान्यता प्राप्त गरेसँगै फिस्टेल एकेडेमीले अब खोजमूलक, आलोचनात्मक सोच, सिर्जनात्मकता र करुणालाई प्रवर्द्धन गर्ने शिक्षण विधिबाट विश्वस्तरीय शिक्षा प्रदान गर्नेछ। विद्यालयका निर्देशक एलिस रानाभाटका अनुसार, यो उपलब्धि हाम्रो विद्यालयका लागि मात्र नभई समग्र पोखरा उपत्यकाका लागि पनि गर्वको विषय हो। यसले पोखरालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रूपमा चिनाउन मद्दत पुर्याएको छ। फिस्टेल एकेडेमीले विश्वका १६० भन्दा बढी देशमा रहेका पाँच हजार सात सयभन्दा बढी आईबी वर्ल्ड स्कुलहरूको सञ्जालमा समावेश हुने अवसर पाएको छ। यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा प्रदान गर्दै विश्व प्रतिस्पर्धामा अघि बढ्न र जिम्मेवार विश्वनागरिक बन्न प्रेरित गर्ने विश्वास विद्यालयले लिएको छ।
स्थानिय मूल्य र मान्यता संरक्षण गर्दै समुदायसँगको सहकार्यमा आधारित आई. बी. पद्धतिले अब पोखराका विद्यार्थीहरूका लागि नयाँ सम्भावनाको ढोका खोल्ने विद्यालयले जनाएको छ।पोखरा पर्यटन, संस्कृति र अब शिक्षाको केन्द्रका रूपमा पनि स्थापित हुँदै गइरहेका बेला फिस्टेल एकेडेमीको यो पहलले समावेशी र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमार्फत नेपालको शैक्षिक रूपान्तरणमा नेतृत्व लिने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया