५ चैत , पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ र दमक उद्योग वाणिज्य संघबीच उद्यमशिलता विकास एवं निजी क्षेत्रका अधिकार रक्षाका लागि सहकार्य गर्ने सहमति बनेको छ ।
झापाको दमक नगर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा पोउवा संघले आयोजना गरेको छलफल कार्यक्रममा सो सहमति जुटेको हो ।
छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले महासंघले जिल्ला—नगरमा रहेका व्यवसायीहरुको पक्षमा प्रभावकारी काम नगरेको स्वीकारे । उनले महासंघको नेतृत्वलाई जिल्ला—नगर उद्योग वाणिज्य संघहरुले दवाब दिनुपर्ने उनको भनाइ थियो । उनले कम्तिमा मेला र महोत्सव आयोजनाको जिम्मेवारी संघहरुलाई दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको निजी क्षेत्रको एउटै समस्या भएको उल्लेख गर्दै समस्या समाधानको लागि एकता हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघले हालसम्म गरेका कामहरुबारे जानकारी दिँदै उनले निजी क्षेत्रले गरेका असल अभ्यासहरुलाई सबैले पच्छ्याउनुपर्ने धारणा राखे ।
त्यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद भट्टराईले पनि महासंघले साना व्यवसायीको समस्या नसुनेको गुनासो गरे । अध्ययन अवलोकन भ्रमणले नयाँ कुरा सिक्ने मौका मिलेको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको छलफलमा दुबै उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए ।
तपाईको प्रतिक्रिया