पोखरा चिनको छेन्दुमा पहिलो व्यावसायिक उडान चैत्र ५ गतेबाट
- Pokhara Express
- २०८१ फागुन २९ बिहीबार

पोखरा । नेपालकै पर्यटनको राजधानी पोखरा र चीनको प्रमुख पर्यटकीय सहर छेन्दुबीच हवाई सम्बन्ध हुने भएको छ । पोखरा भ्रमण वर्ष–२०२५ छेकोमा यहाँका पर्यटन व्यवसायी र पोखरा महानगरको पहलमा पोखरा–छेन्दु व्यावसायिक चार्टर्ड उडान हुन लागेको हो ।
आगामी ५ चैतमा पहिलो उडान भर्न लागेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । पहिलो उडानमा पर्यटन व्यवसायीहरु जानेछन् भने दोस्रो उडानमा उद्योगी व्यवसायी तथा तेस्रो उडानमा सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधिहरु चीन जानेछन् । पहिलो फ्लाइटमा पोखराका मेयर आचार्यको नेतृत्वमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीसहित पर्यटन व्यवसायीहरु रहनेछन् ।
‘धेरै अध्ययन र विमर्श भएर नै यो उडान सुरुवात भएको हो । यसलाई चाँडै नै चार्टर्ड फ्लाइटबाट कमर्सियल फ्लाइटमा लानुपर्छ,’ मेयर आचार्यले भने, ‘धेरै ठूलो प्रयासपछि पोखरादेखि छेन्दु उडान हुने भएको छ । यो पोखराका लागि कोशेढुंगा बन्ने विश्वास छ ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि तयार रहेको बताए । चीनबाहेक अन्य देशका सहरहरुमा पनि उडानको पहल भइरहेको उनको भनाइ छ ।
नियमित चार्टर्ड फ्लाइटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थत चाइनीज ओभरसिज एसोसिएसनले समन्वय गरिरहेको पोखरा पर्यटन परिषद् अध्यक्ष पहारीले बताए । उनका अनुसार आगामी ३ महिनाभित्र चीनको सिचुवानबाट १२५० जनाभन्दा बढी चिनियाँ पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रतिबद्धता छ । २ वर्षअघि भव्य कार्यक्रमबीच उद्घाटन भएको पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नभएकोमा पोखरेली चिन्तित थिए ।
५ गते बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर सिचुवान एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण हुनेछ । सोही विमानबाट दिउँसो १२ बजे १२७ जना पर्यटन व्यवसायीको टोली लिएर छेन्दु उड्नेछ । चार्टर्ड उडान भए पनि १० हप्तासम्मको टिकट बुकिङ भइसकेकाले यसबाट पर्यटन क्षेत्रमा उत्साह भरिएको पहारीले सुनाए । ‘१० वटा फ्लाइट बुकिङ भइसकेको छ । यो खुसीको कुरा हो,’ उनी भन्छन्, ‘सुरुको दुईवटा फ्लाइटमा पोखराबाट यात्रु भर्ने काम हामीले गर्नुपर्छ । त्यसपछि आफैँ निरन्तर सञ्चालन हुन्छ ।’ पोखरा–छेन्दु उडानका लागि पर्यटन व्यवसायीहरु प्रतिबद्ध रहेको उनले बताए ।
नेपालस्थित चिनियाँ दूतावासका डिसिएम वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनका लागि चीन तयार रहेको बताए । ‘पोखरा एयरपोर्ट नेपालको केन्द्रमा रहेको एयरपोर्ट हो । त्यसैले पोखराले धेरै फाइदा लिन सक्छ,’ उनले भने, ‘पोखरा विमानस्थललाई चीन सरकारले आफ्नै ठानेको छ । व्यावसायिक उडानले यहाँको आर्थिक चलायमान गराउन पनि भूमिका खेल्नेछ ।’
पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले चार्टर्ड फ्लाइट नियमित व्यावसायिक उडानका लागि लगानी भएको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेसनल हो कि इन्टरनेशनल भनेर बारम्बार प्रश्न उठ्ने गरेको छ,’ उनले भने, ‘यो फ्लाइटले त्यसको जवाफ दिनेछ ।’ उनले नियमित व्यावसायिक उडानका लागि प्रधानमन्त्रीस्तरबाट कुटनीतिक पहल गर्न जरुरी रहेकोसमेत बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा एयरपोर्ट राज्यको प्राथमिकतामा परेको एयरपोर्ट भएकाले प्रचारप्रसारमा बढी ध्यान दिनुपर्ने बताए ।
एक साता लामो उक्त कार्यक्रममा विशेषगरी सिचुवान प्रदेशको छेन्दु, लुक्झोउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटनका विकास, विस्तारबारे जानकारी लिइने बताइएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्यदूतावास छेन्दुको सहकार्यमा छेन्दु र छोङछिङमा नेपाल इभिनिङ तथा सेल्स मिसन कार्यक्रमसमेत हुनेछ । पोखराका मेयरको नेतृत्वमा लुझोउ शहरमा केही विशिष्ट व्यक्तिसहित उनका समकक्षीसँग भेटवार्ता हुनेछ ।
तपाईको प्रतिक्रिया